
पोखरा – नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले चौथो कार्यसमिति बैठक भदौ १ गते उपत्यका बाहिर पोखरामा आयोजना गरेको छ ।
पोखरामा बैठक आयोजना गर्नुको मुख्य उद्देश्य देशका विभिन्न क्षेत्रमा रहेर अटोमोवाइल ब्यवसायीको समस्याको विषयमा जानकारी लिने र समस्या समाधान गर्न संघीय सरकारसँग पहल गर्ने मुख्य लक्ष्य थियो ।
कार्यसमिति बैंठकपछि पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसन (वाडा) सँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको थियो । अन्तक्र्रिया कार्यक्रमले स्थानीय स्तरमा बसेर कसरी व्यवसाय सञ्चालन भइरहेको छ ।
ती व्यवसाय सञ्चालनको दौरान कस्ता समस्या झेल्नुपरेको छ ? के कस्ता समस्या प्रदेश सरकार र कस्ता समस्या केन्द्रीय तवरबाट समाधान गर्ने भन्ने विषयमा लामो अन्तक्र्रिया भएको थियो ।
वाडाका अध्यक्ष कालिदास पौडेलको नेतृत्वमा भएको अन्तक्र्रिया कार्यक्रममा अधिकांश व्यवसायीले स्थानीय सरकारले लगाएको कर, बजेटले सवारीसाधनमा बढाएको कर, पोखरामा अटो भिलेज निर्माण, नाडा अटो शो पोखरमा गर्नुपर्नेजस्ता विषयको उठान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद बिन्दु थापाले गण्डकी प्रदेश सरकारले जनतामा कुनै किसिमको कर नलगाएको जानकारी दिँदै यस्ता कर सरकारले लगाउन खोजे आफूहरू त्यसको विपक्षमा उभिने जानकारी दिए । उनले विकास निर्माणको काम अगाडि बढिरहेको जानकारी दिँदै व्यवसाय मैत्री वातावरण निर्माणमा आफूहरू लाग्ने जानकारी दिएका थिए ।
नाडा र वाडाबीचको सम्बन्धको विस्तारको विषयमा बोल्दै नाडाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले भने, ‘नाडाले सबै प्रदेशमा रहेर अटोमोवाइल क्षेत्रसँग जोडिएर व्यवसाय गर्ने व्यवसायीको हक र हितमा काम गर्ने हँुदा सबै प्रदेशमा आफ्नो उपस्थिति गराउने कार्य अगाडि बढेको छ । संघीय सरकारसँग गर्नुपर्ने कामको लागि नाडाले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’
उनले यो क्षेत्रको विकासमा सबै मिलेर काम गर्नुपर्ने बताउँदै पोखरा क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यमा सामुहिक पहलमा सार्वजनिक यातायात सेवा विस्तार गर्न सुझाव दिए ।
कार्यक्रममा बोल्ने अधिकांश वाडाका पदाधिकारीले नाडाको कार्यक्रममा आफूहरूको सक्रिय सहभागिताको अपेक्षा गरेका थिए भने स्थानीय स्तरमा व्यवसाय विस्तारको लागि पहल गर्न अपिल गरेका थिए ।