२१ जेठ २०८३, बिहीबार

शव गाडिएको अवस्थामा भेटियो, दुई साताअघि अपहरणमा परेकी थिइन् कारीदेवी

भदौ ९, २०७५
शव गाडिएको अवस्थामा भेटियो, दुई साताअघि अपहरणमा परेकी थिइन् कारीदेवी

लहान– दुई साताअघि घरबाटै अपहृत सिरहाको गोलबजार नगरपालिका–१० की एकल महिला कारीदेवी यादवको शव आज माटोमुनि गाडिएको अवस्थामा फेला परेको छ ।
 सिरहाको नरहा गाउँपालिका–१ स्थित बाँसघारीमा गाडिएको अवस्थामा ५५ वर्षीय यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । 

शव कुहिएर गन्हाउन थालेपछि स्थानीय बासिन्दाले बाँसघारीमा शव गाडिएको हुनसक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय विष्णुपुर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले शव गाडिएको अवस्थामा निकालेको थियो । 

प्रहरीले शव निकालेपछि उक्त शव अपहृत कारीदेवीकै भएको उनका आफन्तजनले बताएका छन् । शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले बताए । 
 गत साउन २५ गते आफ्नै घरबाट अपरिचित दुई जनाले तपाइँको भतिजा बिरामी रहेको भन्दै कारीदेवीलाई अपहरण गरी लगेको स्थानीय बासिन्दाले बताएका छन् । 

जेठाजुसँग चल्दै आएको घरजग्गा अंशको विषयमा कारीदेवीको विवाद चल्दै आएकोे र सोही विवादका कारण उनको अपहरण भएको हुनसक्ने भन्दै स्थानीय बासिन्दाले तीन दिनअघि यादवको दुई जना आफन्तलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका थिए । 

यसैबीच आक्रोशित स्थानीय बासिन्दाले अपहृत यादवको खोजतलासमा प्रहरीले चासो नदिँदा अपहरणकारीले हत्या गरी गाडेको भन्दै आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोहर्वा सडक खण्ड एक घण्टा अवरुद्ध गरेका छन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्