१४ असार २०८३, आइतबार

अहिलेसम्म विप्लवका को को पक्रिए ?

भदौ १०, २०७५
अहिलेसम्म विप्लवका को को पक्रिए ?

 काठमाडौं-सर्पको खुट्टा सर्पले नै देख्छ भनेजस्तै विगतमा सँगसँगै लडेभिडेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफ्नै पूर्वसहकर्मी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता÷कार्यकर्तालाई धमाधम पक्रन आदेश दिनुभएको छ ।

३३ किलो सुनकाण्डमा ठूलो माछा फेला पर्छ भन्दै आउनुभएका गृहमन्त्री थापाले त्यो ठूलो माछा त अहिलेसम्म बल्छीमा पार्न सक्नुभएको छैन तर विप्लव नेकपाका अहिलेसम्मका सबैभन्दा ठूला ‘माछा’ याने खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्रनुभएको छ । अझै घतलाग्दो विषय त के छ भने, तत्कालीन एकीकृत नेकपा (माओवादी) सँग सम्बन्ध छुट्टयाएर बाहिरिँदा गृहमन्त्री थापा र प्रकाण्डहरू उही फुटेको पार्टीमा हुनुहुन्थ्यो । उहाँ फर्किएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै क्याम्पमा फर्केर चुनाव जिती गृहमन्त्री नै बन्नुभयो ।

विगतमा हिसाकिताब नै गर्न नसकिने चन्दा उठाएर जनयुद्ध चलाउनुभएका गृहमन्त्री थापाको सरकारले प्रकाण्डलाई चन्दा उठाएको लगायतका आरोप लगाएको छ । र, अदालतले दुई पटकसम्म छोड्न आदेश दिइसकेपछि पनि प्रकाण्डलाई दुवैपटक पक्राउ गरिएको छ । त्यसो त अहिलेसम्म आफ्नो पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रवक्ता प्रकाण्ड, १२ जना पोलिटव्युरो र एक सय दुई जनालाई पक्राउ गरिएको सो पार्टीले जनाएको छ । यसमा अधिकाशं जिल्लास्तरका नेता रहेका छन् ।

उनीहरुलाई चन्दा असुली, ठगी, विस्फोटक पदार्थ विस्फोट, आगजनी, संगठित अपराध, सार्वजनिक अपराध जस्ता आरोपमा पक्रेर सोहीबमोजिमको मुद्दा लगाएको बताइन्छ ।

देशमा शान्ति सुरक्षा खल्बल्याउन खोजेकाले उनीहरूलाई पक्राउ गरिएको सरकारको दावी छ तर सो पार्टीका एक केन्द्रीय नेताले प्रहरीले बिनाकारण मनोमानी ढंगले आफ्ना कार्यकर्ता पक्राउ गरेको आरोप लगाएका छन् ।

नेकपाका अनुसार पक्राउ पर्ने अन्यमा मेचीब्युरो इन्चार्ज सुमन लिम्वु, कोसी ब्युरो इन्चार्ज किरण राई, पोलिटव्युरो सदस्यहरु ओमप्रकाश पुन, पदम राई, कृष्ण धमला, मोहन कार्की हुनुहुन्छ । यस्तै पार्टीका केन्द्रीय सदस्यहरु दीपेश राई, देवनारायण शाह, टेकबहादुर केसी, चन्द्रबहादुर खड्का पनि पक्राउ परेका छन् । सरकारले उक्त पार्टीका महासचिव विप्लवलाई समेत पक्रन वारेन्ट जारी गरेको छ ।अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्