
बुटवल – बुटवल उपमहानगरपालिका–११ नहरपुरस्थित ज्ञानपुञ्ज सेकेन्डरी बोर्डिङ स्कूलका प्रिन्सिपल तोयराम पौडेलले १० कक्षामा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै बुधबार विद्यालयमा तनाव भएको छ ।
विद्यालयको छात्रावासमा बस्दै आएकी छात्राले मंगलवार अभिभावकसँग रूँदै प्राचार्यले आफूलाई यौनजन्य दुव्र्यवहार गरेको भनेपछि घटना बाहिर आएको छ । अभिभावकले बुधवार विद्यालयमा नाराबाजी गर्दै प्राचार्य पौडेललाई कारवाही गर्न माग गरेका छन् ।
बुधवार अभिभावकले विद्यालयबाट आफ्ना बालबालिकालाई धमाधम घर लगे । उनीहरूले तत्काल प्राचार्य पौडेललाई पक्राउ गरी कारवाही गर्न आग्रह गरे । प्राचार्य पौडेलसँग सम्पर्क हुन सकेन ।
वडा प्रहरी कार्यालय बुटवलमा प्रहरी निरीक्षक अमरबहादुर थापाले प्राचार्य पौडेल आफूहरूको नियन्त्रणमा रहेको भन्दै घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
उनले भने, ‘घटना बाहिर आएसँग उहाँ (प्राचार्य) हाम्रो नियन्त्रणमा हुनुहुन्छ, विस्तृत बुझ्दै छौं ।’ विद्यालयमा झण्डै १ हजार विद्यार्थी अध्ययनरत छन् । छात्रावासमा बस्दै आएकी छात्रा दिउँसो विद्यालय जाने तर साँझ होस्टेलमा जान नमानेपछि उनले घरमा बाआमासँग घटनाको जानकारी गराएकी थिइन् ।
उनी १० कक्षाको अब्बल विद्यार्थी हुन् । स्थानीय आशिष सुर्यवंशीले घटना जनैपूर्णिमा अगाडिको भएपनि बुधवार मात्र बाहिर आएको बताए ।