१४ असार २०८३, आइतबार

कर्मचारीतन्त्रमा विद्यमान निहित उद्देश्य सहितको सेटिङ तोड्नुपर्छ – प्रचण्ड

कर्मचारीतन्त्रमा विद्यमान निहित उद्देश्य सहितको सेटिङ तोड्नुपर्छ – प्रचण्ड
फाइल फोटो

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य सहितको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताएका छन् ।

निर्माण व्यवसायी सङ्घ चितवनको २५औँ साधारणसभालाई बुधवार भरतपुरमा सम्बोधन गर्दै उनले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको बताए ।

आफूले सरकार र मन्त्रालयको सचिवलाई भनेर ठूला विकास निर्माण एउटैलाई नदिनुहोस्, साना÷साना टुक्रामा ठेक्का दिनुहोस्, छिटो/छिटो काम हुन्छ, प्रतिस्पर्धामा काम हुन्छ भनेको स्मरण गर्दै उनले भने, “एउटै ठूलो ठेकेदारलाई ठेक्का दिने, भएभरको नाफा कमाउने पनि उही, काम गरे पनि हुने नगरे पनि हुने ।” 

अध्यक्ष दाहालको भनाइ थियो– “पाँच/सातवटा पुल एउटै ठेकेदारलाई दिएको छ, ओगटेको छ, समयमा काम पूरा पनि हुँदैन । साना निर्माण व्यवसायी रोएर हिँडेका छन् । ठूला ठूलाले एकाधिकार जमाएका छन् ।” 

भूकम्प र नाकाबन्दीका समयमा निर्माण व्यवसायीले काम गर्न नपाएको गुनासो विगतदेखि नै आएको बताउँदै उनले भने– “हर्जाना नलगाइकन एक वर्ष समय थप्न मेरो पूरै पहल हुन्छ ।”

व्यवसायीले सरकारलाई र सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउँदै उनले थपे, “निजी क्षेत्रले राज्य र कर्मचारीलाई कामचोर र घुस्याहा भन्ने, कर्मचारी र राज्यले निर्माण व्यवसायीलाई ठग भन्ने प्रवृत्ति छ ।” 

व्यवसायमा लाग्नेलाई राज्यले नाफाको सुनिश्चितता गर्नुपर्ने बताउँदै उहाँले निजी क्षेत्रलाई खुशी र सुरक्षित नगरी विकास र समृद्धि आउँदैन, भने ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले महिला हिंसाका घटना बढेकाले यसप्रति सरकार गम्भीर बन्नुपर्ने बताए ।

कार्यक्रममा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण व्यवसायीलाई मात्रै दोष दिने परिपाटी अन्त्य गरिनुपर्ने बताए ।

कार्यक्रममा निर्माण व्यवसायी संघ चितवनका सदस्यका उत्कृष्ट अंक ल्याउने तीन छोराछोरी कृषा लामिछाने, अनिसा कँडेल र प्रवीण पौडेललाई सम्मान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्