१७ असार २०८३, बुधबार

रसुवागढी नाकाः यसकारण  राजस्व संकलनमा गिरावट

भदौ १३, २०७५
रसुवागढी नाकाः यसकारण  राजस्व संकलनमा गिरावट

– ज्ञानेन्द्र न्यौपाने 

रसुवा- सडक अवरुद्ध भएको दुई हप्ता बित्न लाग्दा पनि धुञ्चे नजीकको पहिरो व्यवस्थापन गर्न नसकिएपछि भन्सार राजश्वमा गिरावटमा आएको छ । 

चीनसँगको व्यापारिक कारोवार गर्ने एक मात्र उत्तरी रसुवागढी नाकाको राजमार्ग नियमित सञ्चालन गर्न जिम्मेवार निकाय सक्रिय नहँुदा दैनिक रु तीन करोड भन्सार राजश्वमा ह्रास हुँदै गएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । लक्ष्यबमोजिम गत साउनमा रु २६ करोड र भदौमा लक्ष्यबमोजिम रु ३६ करोड राजश्व घाटा परिसकेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिनुभयो । 

रसुवागढी छेउमा गाडी परिवर्तन गर्न सहज भए पनि धुञ्चे नजीक त्रिशूली नदीका दुई पहिरोे क्षेत्रमा जङ्गलको बाटो ढुवानी गर्न असहज भएको व्यवसायीले बताएका छन् । पहिलो चरणमा त्रिशूलीको छेउका दुई पहिरोमध्ये धुञ्चेतर्फको हटाइए पनि गए रातिको वर्षाले माथिबाट विशाल ढुङ्गा झरी पुनः राजमार्ग अवरुद्ध भएको छ । रसुवाका प्रजिअ कृष्ण पौडेलले चिनियाँ पर्यटक र स्थानीय बासिन्दाका लागि नेपाली सेना कालीजङ्ग गणद्वारा नयाँ पैदल मार्ग खोलिएको जानकारी दिनुभयो । 

अहिले ढुङ्गा फुटाउने काम अगाडि बढाइएको छ । सडक कार्यालयको जिम्मा रहेको गल्छी–रसुवागढी राजमार्गको पहिरो हटाउन विस्फोटनका लागि नेपाली सेनाका प्राविधिक समूह र कम्प्रेसर मेशिन झिकाई कामको शुरुआत भए पनि डिभिजन सडक कार्यालयले ढुङ्गा प्वाल पार्ने दक्ष जनशक्ति र क्षमतावान् स्काभेटर व्यवस्था भएको छैन । एक दिनका लागि मङ्गलबार निजी क्षेत्रबाट स्काभेटर झिकाई थोरबहुत पहिरो पन्छाउने कार्य भएको प्रजिअ पौडेलले बताउनुभयो । 


चीनबाट नेपाली बजारका लागि ल्याइएको स्याउ तथा नास्पाती राजमार्गमा कुहिन थालेको र केही स्याउ त्रिशूली नदीमा फ्याँकिएको ढुवानीकर्ता ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । एकता व्यापार सङ्घ नेपाल महाबौद्धले भने व्यापारी व्यवसायीले मगाएका हजार खेपभन्दा बढी अर्बौं रुपैयाँका सामान ढुवानी हुन नसक्दा काठमाडाँैको बजारमा सामानको माग आपूर्ति गर्न कठिनाइ भइसकेको बताएको छ । उत्तरी रसुवामा पनि खाद्यान्न अभाव हुन थालेको स्याफ्रुबेंसीका व्यापारी व्यवसायीले बताएका छन् । 

चार हजार १८५ मिटर हेडरेस सुरुङ निर्माण गरी लक्षित समयमा निर्माण सम्पन्न गर्न लागेको १११ मेगावाटको रस्ुवागढी जलविद्युत् आयोजनाको निर्माण सामग्री भने अब आठ दिनका लागि मात्र मौज्दात भएको आयोजनाका आयोजना प्रमुख छवि गैरेले बताउनुभयो । 

पहिरो पार गर्दै गाडी परिवर्तन गरेर मानसरोवर कैलाश जान लागेका भारतीय तीर्थयात्रु भने काठमाडौँदेखि स्याफ्रुबेंसीसम्म हेलिकोप्टरबाट जान थालेको प्रहरीले बताएको छ । छिटोछरितो पहिरो व्यवस्थापनबाट राजमार्ग सञ्चालन गरी राज्यको भन्सार राजश्व अभिवृद्धि, विद्युत् आयोजनाको सामान, व्यापारी व्यवसायीको सामान ढुवानी, स्थानीय बासिन्दाको दैनिक उपभोग्य वस्तु ढुवानी र एम्बुलेन्स गुडाई बिरामी अस्पताल लानका लागि सहजता ल्याउन सडक कार्यालय गम्भीर हुनुपर्ने स्थानीयवासीले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्