
विराटनगर–एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले संसदमा प्रस्तुत गरेको प्रदेश सामाजिक विकास संस्थाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाइ दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाएको छ । सामाजिक विकास मन्त्री जिवन घिमिरेले साउन २० गते उक्त विधेयक सदनमा पेस गरेका थिए ।
दुई दिनसम्म चलेको दफावार छलफलमा सांसदहरुले विधेयकमा विभिन्न विषय छुट भएको र समितिमा लगेर थप छलफल गर्नुपर्ने माग गरेका थिए । सामाजिक विकास मन्त्री घिमिरेले उक्त विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस भनी पेश गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।
उक्त विधेयकमा कांग्रेसका सांसद शेखरचन्द्र थापा, शिवनारायण गनगाइ र नेकपाका सांसद विमल कार्की र सरिता थापाले संशोधन प्रस्ताव दर्ता गराएको सभामुख प्रदिपकुमार भण्डारीले सदनमा जानकारी गराएका थिए ।