१९ असार २०८३, शुक्रबार

चारपाला वनमा बुद्धकालीन ऐतिहासिक भग्नावशेष फेला

भदौ १४, २०७५
चारपाला वनमा बुद्धकालीन ऐतिहासिक भग्नावशेष फेला

बुटवल – चारपाला सामुदायिक वनमा ऐतिहासिक तथा पूरातात्विक भग्नावशेष फेला परेका छन् ।

वनको ब्लक नम्बर १ को ६० हेक्टर क्षेत्रमा बुद्धकालीन र मल्लकालीन भग्नावशेष भेटिएका हुन् । वनमा सयौं वर्ष पहिले ठूला मानव बस्ती रहेको पाइएको छ । त्यहाँ इनार, बुद्धकालीन इँट्टा, मानाका ढकनी, चौपारी चिनेको, अष्टधातु, माटाका भाडाहरू लगायतका वस्तु भेटिएका वनले जनाएको छ ।

बिहीवार चारपाला सामुदायिक वन उपभोक्ता समूह र सैनामैनामा निर्माणाधीन प्राकृतिक चिकित्सायलको टोलीले भग्नावशेष क्षेत्रको अध्ययन अवलोकन भ्रमण गरेका छन् । चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामबहादुर पुनले वनमा भेटिएका ऐतिहासिक र पुरातात्विक वस्तु भएको क्षेत्रलाई संरक्षण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘यहाँ हजारौं वर्ष पहिलो जंगलको समथर जग्गामा ठूलो बस्ती रहेको देखिन्छ । यसलाई नजिकै रहेको प्रदेश सरकारले उत्खनन् र संरक्षण गरी यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आवश्यक छ । यसको विकास गर्न वन सधैं तयार छ ।’

चारपाला वन उपभोक्ताको हिसाबले नेपालकै ठूलो वन हो । वनमा १४ हजार उपभोक्ता छन् । वनको क्षेत्रफल २ हजार २३ हेक्टर रहेको छ । रूपन्देही विभिन्न ठाउँमा ऐतिहासिक क्षेत्र रहेको भन्दै पूरातत्व विभागले उत्खनन् गरेपनि चारापालमा अहिलेसम्म विभाग नपुगेको भन्दै उपभोक्ताले गुनासो समेत व्यक्त गरे ।

प्राकृतिक चिकित्सालयका अध्यक्ष रामप्रसाद भट्टराईले वन क्षेत्रमा भेटिएका बुद्धकालीन र मल्लकालीन भग्नावशेषको उत्खनन् गर्न चासो दिनुपर्ने बताए । उनले सैनामैनामा बन्दै गरेको चिकित्सालयमा उपचारमा आउने बिरामीलाई वनको ऐतिहासिक क्षेत्रको संरक्षण गरी त्यहाँ पुग्न वातावरण मिलाउनुपर्ने बताए । 

वनमा साल असना, जामुन,  कर्मा, कुसुम, बाँझी, हर्रो, रोहिणी, सतिसाल, विजयीशाल, सिसौं, टिक लागतलका विरुवा पाइन्छन् । वनमा बाघ, भालु, घोरल, खरायो, दुम्सी, स्याल, न्यालोबाघ, स्याल, दुम्सी, चितुवा, बदेल, हरिण, मृग र बादल पाइन्छन् । 

वनका कार्यालय सचिव विनोद आचार्यले भग्नावशेषको गहिरो अध्ययन र उत्खनन् गरी उक्त क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकीय गन्त्व्यको रूपमा विकास गर्न स्थानीय र प्रदेश सरकारको ध्यान जान आवश्यक रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्