०४ असार २०८३, बिहीबार

आठ महिने बालिकाको अपहरणपछि हत्या प्रकरण : आरोपीका आमाबाबु पक्राउ

भदौ १४, २०७५
आठ महिने बालिकाको अपहरणपछि हत्या प्रकरण : आरोपीका आमाबाबु पक्राउ

जनकपुरधाम –महोत्तरीको औरही नगरपालिका वडा नम्बर १ की  आठ महिने बालिका सोनालिका चौधरीको अपहरण पश्चात बलात्कार गरी हत्या गरेको आरोप लागेका युवकको आमाबुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय औरही प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) शंकर श्रेष्ठले आरोपी भंगहा नगरपालिका–६ का २५ वर्षीय भारत साहका आमाबाबुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए । 

उनले लोकान्तरसँग भने,‘प्रतिवादीका बुवा र आमा दुबैलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।’ तर, उनका आमा बुवाबाट पनि खासै कुरा खुल्न नसकेको श्रेष्ठले बताए ।

हाल फरार रहेका प्रतिवादी बिगतमा चोरी कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ  ।

 स्थानीयहरूबाट प्राप्त सूचना अनुसार आफ्नै आफन्तका घरमा जाँदा कसैको साइकल चोरी गर्ने, कसैको मोबाइल चोरी गर्ने जस्ता क्रियाकलापमा संलग्न रहने गरेको पाइएको असई श्रेष्ठले बताए ।

केही महिना अघि मात्रै सिरहा जेलबाट उनी छुटेर आएको बताइए पनि त्यसको पुष्टि हुन बाँकी रहेको उनले बताए ।

श्रेष्ठका अनुसार प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको २०–२२ जनाको सुरक्षाकर्मीको टोलीले सम्भावित बाहिरी क्षेत्रमा खोज तलासको काम जारी राखेको छ । त्यसैगरी आरोपी लुकेको हुनसक्ने सम्भावित भित्रि क्षेत्र, जङ्गल र उखु घारीमा खोज तलासलाई तीब्र बनाउनुका साथै सशस्त्र प्रहरीको पनि छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । 

यता उद्योग बाणिज्य संघ औरहीको अगुवाइमा अनिश्चितकालिन  आन्दोलन जारी राखिएको छ । उद्योग बाणिज्य संघ औरहीका अध्यक्ष श्रवण चौधरीले दोषीलाई कारबाहीको माग गर्दै स्थानीयबासी, उद्योगी ब्यापारी, नागरिक समाज र बिभिन्न राजनीतिक दलले संयुक्त रूपमै अनिश्चितकालिन आन्दोलनलाई जारी राखेको जानकारी दिए । 

‘शुक्रबारदेखि उद्योग बाणिज्य संघका मटिहानी, गौशाला, बर्दिबास, रामगोपालपुर, जलेश्वर लगायतका शाखाहरूलाई पनि बजार बन्द गर्न हामीले अनुरोध गरेका छौं’ चौधरीले बताए ।

यता घटनाबारे औरही नगरपालिकाका मेयर सुनिल कुमार यादवले कुनै चासो नदेखाएको स्थानीयले गुनासो गरेका छन् । काठमाडौं गएका भनिएका मेयरले अहिलेसम्म घटनाबारे कुनै चासो नदेखाएको र सम्पर्कमा पनि नआएको चौधरीले आरोप लगाए । 

त्यस क्षेत्रबाट प्रदेशसभामा  विजयी संघीय समाजबादी फोरम नेपालका सांसद कौशल कुमार यादब र प्रतिनिधिसभा सदस्य तथा संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले पनि  कुनै चासो नलिएको उद्योग बाणिज्य संघ औरहीका अध्यक्ष चौधरीले बताए ।

औरही नगरपालिका वडा नम्बर १ का अध्यक्ष राजकिशोर चौधरीले फरार अभियुक्तलाई पक्राउ गर्न आफूहरुको तर्फबाट प्रहरीलाई सबै खालको सहयोग भएपनि हालसम्म पक्राउ पर्न नसकेको बताए ।  

गत आइतबार औरही नगरपालिका–१ स्थित औरही बजारमा मृतक बालिकाकी आमाले संचालन गरेको पसलमा टोपी किन्ने बहानामा पुगेका उनी मूल्य बढी भयो भन्दै किनेका थिएनन् ।   त्यसपछि पसलमै खेलिरहेकी बालिका लिएरर उनी फरार रहेका थिए । 

अपहरणको भोलिपल्ट बालिकाको शब हत्या गरेको अवस्थामा फेला परेको थियो । 

पसलमा जडान गरिएको सिसिटिभी क्यामेरामा उनको पहिचान खुलेको थियो । 

बलात्कारी र हत्यारा पक्राउ नपरेपछि सर्वसाधारण आन्दोलित, महोत्तरीमा तनाव

 

salt training

कमेन्ट गर्नुहोस्