२२ जेठ २०८३, शुक्रबार

बुद्धसँग जोडिएको बिम्स्टेक, अाेली र माेदीले के भने ?

भदौ १५, २०७५
बुद्धसँग जोडिएको बिम्स्टेक, अाेली र माेदीले के भने ?

काठमाडाैं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा बुद्ध जन्मभूमिको विशेष महत्व उजागर गरिएको छ ।  सम्मेलनको उद्घाटन सत्रमा अध्यक्षीय मन्तव्य दिँदै आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई स्वागत गर्ने क्रममा ‘बुद्धको देशमा स्वागत गर्दछु’ भनी उल्लेख गर्नुभएको थियो । 

आफ्नो सम्बोधनका क्रममा नेपालको छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२० मा बिम्स्टेकको सदस्य राष्ट्रका बीचमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्ने जानकारी दिएर बुद्धत्वको महत्वबारे जोड दिनुभएको थियो । 
उहाँले भारतको नलान्दा विश्वविद्यालयलाई बिम्स्टेक राष्ट्रका भाषा संस्कृति अध्ययन केन्द्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरी यस क्षेत्रमा बौद्ध दर्शनको प्राज्ञिक उन्नयनका लागि प्राथमिकता दिनुभयो । उक्त विश्वविद्यालय बौद्ध साहित्य र दर्शनका लागि अध्ययन हुने प्राचीन संस्था मानिन्छ । 
सम्मेलनका लागि नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्त बुद्धको जन्मस्थल लुम्बिनी पुगेर दर्शन तथा पूजा गर्नुभएको थियो । यसले लुम्बिनी र बौद्ध दर्शनको महत्वका साथै नेपालको धार्मिक र पर्यटकीय महत्वमा अभिवृद्धि भएको पाइएको छ । बिम्स्टेकका सदस्य राष्ट्रमध्ये म्यान्मामा ८८, श्रीलङ्का ७५ र थाइल्याण्डमा ९० प्रतिशत(करीब) बौद्ध धर्मावलम्बी छन् ।

सम्मेलनकै अवसरमा श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरिसेना भदौ १६ गते लुम्बिनी जानुहुनेछ । त्यस्तै उहाँ काठमाडौँको चाबहिलस्थित करीब दुई हजार ३०० वर्ष पुरानो बौद्ध चैत्य अर्थात् ‘धन्दो चैत्य’ दर्शनका लागि भदौ १७ गते जाने भएपछि त्यहाँ सरसफाइ र तयारी गरिएको छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्