
काठमाडौं – पछिल्लो समय गुमनामजस्तै रहेका पूर्व युवराज पारस शाहले देश दौडाहमा निस्किने मूड बनाएका छन् ।
उनले यसकै लागि दुई दिनअघि पूर्वपञ्च र राजावादी पार्टीका नेताहरूसँग छलफल गरेका छन् ।
'उहाँले देश दौडाहामा निस्कने योजना बनाउनुभएको रहेछ, त्यसका लागि सुझाव माग्नुभयो ’ राप्रपाका एक नेताले लोकान्तरसँग भने, ‘हामीले राजतन्त्रको पक्षमा माहोल जरुरी रहेको भन्दै देश दौडाहा प्रभावकारी हुनुपर्नेमा जोड दियौं ।’
यसबाहेक राजतन्त्र र हिन्दूराष्ट्रको पुर्नस्थापनाका विषयमा पनि छलफल भएको नेताहरूले बताएका छन् ।
छलफलमा कमल थापा नेतृत्वको राप्रपाका नेताहरू जयन्त चन्द र भुवन पाठक, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरू राजेन्द्र गुरुङ, सुरेश आचार्य, विराज भट्ट, रवीन्द्रप्रताप शाह र सगुनसुन्दर लावती तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका ऋषिबाबु परियार, शुष्मा आचार्य, केशव श्रेष्ठसहित डेढ दर्जन नेताहरू सहभागी भएको बताइएको छ ।
काठमाडौंको नक्सालस्थित एक होटलमा ४ घण्टाजति छलफल भएको थियो । भेटघाटमा साहले राष्ट्रियता कमजोर बन्दै भन्दै चिन्ता समेत व्यक्त गरेका थिए ।
यसअघि गत चैतमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि तीन राप्रपाका दोस्रो वरीयताका नेताहरूसँग झापामा छलफल गरेका थिए ।