
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच सोमबार दिनभर भएको वार्ताबाट तीन बुँदे सहमति जुटेको छ । सहमतिसँगै चिकित्सक संघले आन्दोलनको कार्यक्रम एक साता स्थगन गरेको छ ।
सहमति अनुसार सरकारले सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउने छ । यस्तै मुुलुकी अपराध (संहिता) को दफा २३० को उपदफा २ खारेज गर्ने उल्लेख छ।
यसैगरी यस्तै, परिच्छेद १९ मा रहेको सम्पूर्ण सजाय तथा दण्ड सम्वन्धित काउन्सिलको छानविन समितिको प्रतिवेदनका आधारमा निर्णय गर्ने र उजुरी दिने हद म्याद ६ महिना कायम गर्ने र डिउटीमा रहेका बेला स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा गालीगलौज, हातपात, तोडफोड, आगजनी गर्नेलाई विना धरौटी हिरासतमा राख्ने सहमति भएको छ।
चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले सहमति भएसँगै एक साताका लागि आन्दोलन स्थगित गरिएको र सो कार्यन्वयन नभए सोमबारपछि फेरि आन्दोलन गर्ने बताए ।
सङ्घले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौज्दारी कार्यविधि ऐन, २०७४ का चिकित्सासम्बन्धी केही प्रावधानलाई तत्काल संशोधन गर्नुपर्ने प्रमुख माग उठान गर्दै आन्दोलनरत थियो ।
विश्वकर्मा फेरि पक्राउ
सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत नुवाकोटको रोहवरमा रिहा भएका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन् ।
सर्वोच्चको आदेशलगगत्तै उनलाई जिल्ला अदालत नुवाकोटको गेटबाटै प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध भोजपुरमा पनि मुद्दा रहेकाले प्रहरीले त्यहाँको पुर्जी थमाएको बताइएको छ ।
बेलकोगडी नपा–९ मा गत साउन ७ गते राति दुईवटा स्काभेटर जलाएको आरोपमा पक्राउ गरी भदौ ८ गते नुवाकोट ल्याइएका विश्वकर्मालाई सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार रिहा गर्न आदेश दिइएको थियो ।
सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले सोमबार विश्वकर्मालाई नुवाकोट जिल्ला अदालतको रोहोवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, ‘अदालतको आदेशको सम्मान र कार्यान्वयन गर्नुपर्ने कानूनी दायित्व भएको निकायबाट बारम्बार आदेशलाई असम्मान गरेकामा अदालतको गम्भीर सरोकार रहेको छ, निज विश्वकर्मालाई नुवाकोट जिल्ला न्यायाधीशको रोहवरमा छाड्नू ।’
आदेशमा मुद्दाको अनुसन्धान गरी पर्याप्त कारण, आधार तथा प्रमाण भए कानूनले रोक लगाएको नदेखिएको तर गैरकानूनी रुपमा राखेको भनी दुईपटक आदेश जारी गर्दा पनि आदेशको उल्लङ्घन गर्नुलाई अदालतले गम्भीरतापूर्वक लिएको छ ।
सर्वोच्च अदाललते विश्वकर्मालाई थुनामुक्त गर्न दिएको यो तेस्रो आदेश हो भने सोमबार साँझ पक्राउ परेसँगै उनी पक्राउ परेको यो चौथो पटक हो ।
यसअघि भदौ ७ गते विश्वकर्मालाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्च अदालतको रजिस्ट्रारको रोहवरमा छाड्न आदेश दिएको थियो ।
त्यसैगरी विश्वकर्मालाई यही भदौ १ गते न्यायाधीश चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो । विश्वकर्मालाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो ।
जोशी सर्वोच्च फर्किने तयारीमा
गत साउन १८ गतेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले नेपालको प्रधानन्यायाधीश बन्न ‘अयोग्य’ ठहर गरेका न्यायाधीश दीपकराज जोशी पुनः सर्वोच्च फर्किने तयारीमा लागेका छन् ।
जोशी भावी प्रधानन्यायाधीशका लागि सिफारिस भएका ओमप्रकाश मिश्रलाई ‘स्वागत’ गरेर सर्वोच्चमा फर्किने तयारीमा छन् ।
जोशी निकट स्रोतका अनुसार प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि विभिन्न कानून व्यवसायी र संविधानविद्हरुसँगको परामर्श पछि जोशी सर्वोच्चमा फर्किने सोचमा पुगेका हुन् ।
‘भावी प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र श्रीमानको नाम सिफारिस भएको छ । उहाँको नाम स्वीकृत भए प्रधानन्यायाधीशमा नियुक्त भएर आए जोशी श्रीमान् उहाँलाई स्वागत गर्न सर्वोच्चमा जानुहुन्छ,’ जोशी निकट स्रोतले लोकान्तरसँग भन्यो, ‘मिश्र श्रीमान्लाई सर्वोच्चमा स्वागत गरेरै उहाँले न्यायाधीशको रुपमा आफ्नो काम शुरू गर्नुहुन्छ ।’
प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने संसदीय सुनुवाइ समितिको निर्णयको तेस्रो दिन (साउन २० गते आइतवार)देखि बिदामा बसेका जोशी मिश्र प्रधानन्यायाधीश बनेसँगै सर्वोच्च फर्किने सोचमा छन् ।
अर्थमन्त्रालयले बाँड्यो ३ करोड
अर्थ मन्त्रालयले सरकारी ढुकुटीबाट चालू आर्थिक वर्षको पहिलो महिना(साउन)मा ३ करोड रकम वितरण गरेको छ । मन्त्रालयले साउनमा मात्रै विभिन्न मन्त्रालय र निकायमार्फत व्यक्तिहरुलाई ९९ लाख ४५ हजार रकम निकासा गरेको छ । यस्तै काठमाडौंमा सम्पन्न बिमस्टेक शिखर सम्मेलनका लागि गृहमन्त्रालयलाई २ करोड रुपैयाँ रकमान्तर गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको साउन महिनामा निकासा भएको तथ्यांकअनुसार छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अनसनमा रहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई विशेष राहत स्वरुपमा गृहमन्त्रालय मार्फत २० लाख रकम उपलब्ध गराएको छ ।
मनाइयो गौरा पर्व
उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमबासीले सोमबार गौरा पर्व मनाए । दुबोकोसमेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । काठमाडौंको टुडिखेलमा पनि सोमबार विभिन्न कार्यक्रम आयोजना गरि उपत्यकामा रहेका सुदुरपश्चिमबासीले गौरा पर्व मनाए ।
मध्य रातमा कृष्ण पक्षको अष्टमी तिथि रहेका दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ । गौरा पर्व भने सूर्योदयकालमा अष्टमी तिथि रहेका दिन मनाउने गरिन्छ ।
प्रहरी महानिरीक्षक खनालको समाचार
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्र र नेपाली नागरिकको रक्षाका लागि नेपाल प्रहरी जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बारा तथा व्यारेक र हिरासतको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै उनलेराष्ट्र र नेपाली नागरिकको सेवामा सदैव समर्पित रहन नेपाल प्रहरीलाई निर्देशन दिए ।
प्रहरी महानिरीक्षक खनालले दोषीलाई नछोड्ने र निर्दोषलाई नफसाउन काममा प्रहरी पूर्णरुपमा चनाखो हुनुपर्छ भन्दै भन्दै प्रहरीप्रति नागरिकको भरोसालाई कायम राख्न कुनै कसर बाँकी नराख्न मातहातका सबैलाई निर्देशन दिए ।
एशियाडमा पदक विजेता खेलाडी सम्मानित
इन्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकुदमा नेपालाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई नगदसहित सम्मान गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदसय सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्याराग्लाइडिङ खेलाडीलाई जनही रु पाँच लाख, खेल सङ्घलाई रु पाँच लाख, मुख्य प्रशिक्षकलाई रु तीन लाख र सहायक प्रशिक्षकलाई रु एक लाख ५० हजारसहित सम्मानपत्रद्वारा सम्मान गरे ।
इन्डोनेसियामा भएको १८ औँ एसियाडअन्तर्गत प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालले २० वर्षपछि रजत पदक जितेको थियो । पुरस्कृत हुनेमा विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ, विशाल थापा तथा मुख्य प्रशिक्षकमा योगेश भट्टराई र सहायक प्रशिक्षक सानुबाबु श्रेष्ठ छन् ।
पासाङल्हामु राजमार्ग खुला
धुञ्चेको त्रिशूली नदी नजिक यही भदौ १ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्गमा यातायात पुनःसञ्चालन भएको छ ।
बीच बाटामा रोकिएका सयौँ मालवाहक कन्टेनर र ट्रक तथा पर्यटकीय गाडीहरु आफ्नो गन्तव्यतर्फ गएका छन् । अब गल्छी–रसुवागढी राजमार्गअन्गतर्ग टिमुरे, घट्टेखोला नजीकसम्म निर्बाध रुपले सवारी साधन सञ्चालन गर्न सकिने भएको छ । रसुवागढी नजीक भीरमा सडक खुलाउने कार्य भने चलिरहेको छ । मङ्गलबार साँझसम्म सो सडक खुलाइने प्रजिअ कृष्ण पौडेलले बताए ।
करणीका दोषी चौधरीलाई सात वर्ष जेल
जिल्ला अदालत उदयपुरले सुनसरीको बराह क्षेत्र–८ घर भई उदयपुरको बेलुका नगरपालिका–३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई स्थानीय १४ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्षको जेल सजायको फैसला गरेको छ ।
न्यायाधीश तीर्थराज केसीको इजालासले चौधरीलाई बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्ष जेल सजाय र रु ३० हजार जरिवाना गर्ने फैसला गरेको स्रेस्तेदार रीतबहादुर मगरले बताए । २०७४ फागुन २५ गते बेलुका नगरपालिका–३ की १४ वर्षीया बालिकालाई घर जाँदै गरेको बेला चौधरीले जबर्जस्ती पक्रेर घारीमा लगी बलात्कार गरेको अभियोगमा प्रहरीले चौधरीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।
प्रमको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
काठमाडौँमा यही भदौ १४ र १५ गते चलेको शिखर सम्मेलनमा जारी घोषणापत्र कार्यान्वयन गर्न सम्बद्ध पदाधिकारीलाई उनले निर्देशन दिएका हुन्।
सम्मेलनबाट जारी घोषणापत्रमा गरीबी निवारण, यातायात र सूचना प्रविधिको सम्पर्क र सञ्जाल विस्तार, वातावरण, ऊर्जा, प्रविधि र प्राकृतिक प्रकोपको व्यवस्थापन, मत्स्य र कृषिपालन, जनस्वास्थ्य, सांस्कृतिक समन्वय, पर्यटन, हिमाल र समुद्र नथा नदीनालाको अर्थतन्त्र (माउन्टेन एण्ड ब्लु एकोनोमी) आदि उल्लेख गरिएको छ ।
बिम्स्टेक सफलः सभापति देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएका छन्।
नेपाल प्रेस युनियन चितवन शाखाले सोमबार चितवनमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भर्खरै नेपालमा सम्पन्न उक्त सम्मेलनलाई सफलरूपमा लिनुपर्ने र यसले एक आपसमा सद्भाव बढाउनेमा जोड दिए ।
बिम्स्टेकका कारण सार्कको महत्व नघटेको चर्चागर्दै उनले सार्कको पनि आफ्नै महत्व रहेको बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले संयुक्त सैन्य अभ्यास सहमतिबमोजिम गरिनुपर्ने बताए ।
दुर्घटना न्यून
काठमाडौँ उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि तिनबाट हुने दुर्घटनामा कमी आएको छ ।
सवारीसाधनको अत्यधिक चाप रहेको उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि दुर्घटनामा कमी आएको हो । उपत्यकामा चालू आर्थिक वर्षको साउन र भदौमा ती सवारी साधनको दुर्घटनाबाट तीनजनाको ज्यान गएको छ ।
फिफा उत्कृष्ट खेलाडीमा तीन जनाको नाम
विश्व फुटबल महासंघ (फिफा)ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ ।
क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको हो । यी मध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए ।
तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन् । उनी विगत ११ बर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका थिए ।