२४ जेठ २०८३, आइतबार

सांसदहरूलाई प्रधानमन्त्रीको प्रतिप्रश्न – सैन्य अभ्यासको कुरा कहाँबाट आयो ?

सांसदहरूलाई प्रधानमन्त्रीको प्रतिप्रश्न – सैन्य अभ्यासको कुरा कहाँबाट आयो ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकलाई मिलिट्री प्याक्ट बनाउने गरी कुनै सम्झौता नभएको प्रस्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधनपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

‘बिमस्टेकलाई मिलिट्री प्याक्ट बनाउने कुरा कतै आएको छैन । नेपाल मिलिट्री प्याक्टमा विश्वास गर्दैन र पस्दा पनि पस्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसमा हाम्रो कुनै सरोकार छैन ।’

उहाँले सैन्य अभ्यासको कुराप्रति पनि अनविज्ञता प्रकट गर्नुभयो ।

‘अचम्म त यो सैन्य अभ्यासको कुरा कहाँबाट आयो ? विभिन्न देशबीच सैन्य अभ्यास पहिलेदेखि नै चलेको हो,’ उहाँले भन्नुभयो, ‘ट्रेनिङका लागि हाम्रा सैनिक पनि बाहिर जाने गरेका छन् । यहाँ आएर मिलिट्रीको डिग्री लिने पनि छन् । राष्ट्रसंघीय सेनामा पठाउनुअघि पनि यस्तो अभ्यास हुन्छ । भारत, पाकिस्तान, चीन र अमेरिकासँग अभ्यास हुने गरेको छ ।’

प्रधानमन्त्री ओलीले नेपाली सेनाप्रतिको विश्वास कामबाटै पुष्टि भएको समेत बताउनुभयो । ‘नेपाली सेनाप्रतिको विश्वास कामबाट देखिएको छ । नेपाली सेना र सुरक्षा निकायले रातदिन खटेर सुरक्षामा कुनै पनि ल्याप्सेस हुन दिएनन् । एउटा मोटरसाइकल चिप्लिएर आफैं घाइते भए । गालामा चोट लाग्यो । तर अरुलाई चोट लाग्न दिएनन् । त्यसले सुरक्षा क्षमता प्रष्ट भएन र ?’

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतीय सेना आएको विषयमा भने प्रस्ट जवाफ दिनुभएन ।

राष्ट्रियतालाई बचाउन आफूले खेलेको भूमिकाको स्मरण गरेको भन्दै उहाँले प्रश्न सोध्ने सांसदहरूलाई धन्यवाद पनि दिनुभयो । ‘राष्ट्रलाई बचाउने मेरो भूमिकाको स्मरण गर्नुभएकोमा धन्यवाद,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘साथीहरूले चिन्ता जाहेर गर्नुभयो, तर देशको हितविपरीत कुनै कदम चालिने छैन । कुनै नीति लिइने छैन । आधारभूत नीतिविपरीत हुने कुनै काम हुँदैन ।’

प्रधानमन्त्री ओलीले बिमस्टेक सार्कको विकल्प नभएको समेत प्रस्ट पार्नुभयो ।

त्यसअघि सांसदहरूले बिमस्टेक राष्ट्रहरूबीचकाे सैन्य अभ्यास, भारतीय प्रधानमन्त्रीसँग भारतीय सेना आएकाे प्रस‌ंग, बिमस्टेक सार्कको विकल्प त होइन भन्ने आशंका लगायतका विषयमा प्रश्न सोधेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्