
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा आवश्यक संरचनाको अभाव रहेकाले बिमस्टेक सम्मेलन सोल्टी होटलमा गर्नुपरेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सबै कुराको सहजताका लागि सम्मेलन सभागृहभन्दा अन्यत्रै गर्नुपरेको बताउनुभएको हो ।
‘सभागृहमा धेरै कुराको समस्या छ । होल्डिङ रुमदेखि थुप्रै कुराको अभाव छ । अभाव र अस्तव्यस्तता नभएको ठाउँलाई छानियो,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘पशुपति हुँदाहुँदै बाटामा किन भनेजस्तो सभागृहमा पशुपति थियो बाटोमा किन किन गरेको भन्ने होइन नि !’
प्रधानमन्त्री ओलीले मौसमका कारण रिट्रीट स्थल फेर्नुपरेको पनि बताउनुभयो ।
‘जहाँ भनिएको थियो, त्यहाँ गर्न पानी परेर सम्भव भएन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘चौरी (चउर) हिलो भयो । हिलोमा गर्ने कुरा भएन । यही मौसममा सम्मेलन गर्नुपर्ने थियो । यसमा हाम्रो असफलता कसरी हुन्छ ?’
बिमस्टेक सम्मेलनमा सहभागी अतिविशिष्ठ पाहुनालाई गोकर्णमा दिने भनिएको रिट्रीट सोल्टीमै दिइएको थियो ।