
सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ ।
आरंग नेपालको आयोजनामा आगामी मंसिरको पहिलो हप्ता कर्णालीमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने भएको हो । आरंग नेपालको नेतृत्वमा कर्णाली प्रदेशको राजधानी, कला र रंगमञ्चको तीर्थस्थल भनेर चिनिने सुर्खेतमा ७ वटै प्रदेशका कलाकारको सहभागिता हुने गरी नाटक महोत्सव आयोजना गरिएको आरंग नेपालका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक गणेशभक्त गौतमले जानकारी दिए ।
कर्णाली प्रदेशको लोक नाट्य, लोक नाटक र अभिनयलाई विशेष टेवा पुर्याउने र देशभर रंगमञ्चीय गतिविधिको सन्देश दिन नाटक महोत्सवको आयोजना गरिएको वरिष्ठ रंगकर्मी गौतमको भनाई छ ।
सांस्कृतिक संस्थान नेपालको प्रस्ताव र सहयोगमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरिएको महोत्सवको प्रभावकारी सञ्चालनका लागि गृहकार्य शुरू गरिएको गौतमले बताए । नाटक महोत्सवका लागि सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघर लगायतले आर्थिक सहयोगको प्रतिवद्धता गरेको गौतमले बताए । राष्ट्रिय नाटक महोत्सव सञ्चालनमा करीब ५८ लाख रुपैयाँ अनुमानित खर्च हुने गौतमले जानकारी दिए ।
१९ वटा उपसमिति गठन
कर्णालीको राजधानी सुर्खेतमा आयोजना हुने नाटक महोत्सव सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । आरंग नेपालका अध्यक्ष गणेशभक्त गौतमको नाटक महोत्सवको सयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
महोत्सव सफल बनाउन विभिन्न १९ वटा उपसमिति गठन गरिएको छ । प्रेमदेव गिरीको संयोजकत्वमा सल्लाहकार उपसमिति, यामनारायण आचार्यको संयोजकत्वमा रंगमञ्च व्यवस्थापन, प्रकाश पौडेलको संयोजकत्वमा पाण्डुलिपि छनौट तथा समन्वय, ललित भट्टराईको संयोजकत्वमा आर्थिक र भानुभक्त अधिकारीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको आरंग नेपालका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक गणेशभक्त गौतमले जानकारी दिए ।
गौतमका अनुसार केशव ढकालको संयोजकत्वमा कार्यशाला गोष्ठी, उत्तम शर्माको संयोजकत्वमा दर्शक व्यवस्थापन, माया थापाको संयोजकत्वमा अतिथि सत्कार, अकवर खानको संयोजकत्वमा यातायात तथा आवास, अशोककुमार सिंहको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
दिपक नेपालीको संयोजकत्वमा प्राविधिक, खड्गबहादुर चन्दको संयोजकत्वमा झाँकी व्यवस्थापन, सुरेन्द्र गिरीको संयोजकत्वमा अभिलेखीकरण, सविता कोइरालाको संयोजकत्वमा भेषभुषा शृंगार, विशाल ढकालको संयोजकत्वमा प्रायोजन व्यवस्थापक, खुमलाल न्यौपानेको संयोजकत्वमा पुरस्कार तथा सम्मान र तिलक पौडेलको संयोजकत्वमा सामग्री उत्पादन उपसमिति गठन गरिएको छ ।
७० जना रंगकर्मीको सहभागिता हुने
प्रतियोगिताका लागि देशभरका नाट्य संस्थाबाट खुलारुपमा दरखास्त आह्वान गरिने पाण्डुलिपि छनौट तथा समन्वय उपसमितिका संयोजक प्रकाश पौडेलले बताए । उनका अनुसार महोत्सवमा सहभागी हुन चाहने नाट्य संस्थाले नाटकको पाण्डुलिपि र भिडियो श्रव्यदृश्य नमूना विद्युतीय माध्यमबाट पठाउने छन् ।
संकलित आकांक्षी मध्येबाट प्रत्येक प्रदेशबाट एउटा नाटक पर्ने गरी छनोट गरिने छ । प्रतियोगिताका लागि छनौट भएका ७ वटा र एउटा अप्रतियोगी गरी ८ वटा नाटक कम्तिमा दिनको २ वटा नाटकका दरले दिनसम्म प्रदर्शन गरिने छ ।
महोत्सवमा देशभरबाट ७० जना रंगकर्मीको सहभागिता रहने छ । देशभरका नाट्य संस्थाले फरक–फरक परिवेशका नाटक प्रदर्शन गर्ने पौडेलले बताए ।
प्रतियोगितामा सामेल भएका नाटक मध्यबाट प्रथम, द्वितीय र तृतीय छनौट गरी आकर्षक पुरस्कार तथा उत्कृष्ट नायक उत्कृष्ट नायिका र उत्कृष्ट निर्देशकलाई समेत पुरस्कृत गरिने छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकको उपस्थितिमा नाट्य कर्म, रंगमञ्चीय ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले एक कार्यशालाको पनि आयोजना गरिने पौडेलले जानकारी दिए ।
उनका अनुसार सुर्खेतमा सुविधा सम्पन्न रंगमञ्च नभए पनि अस्थायी रुपमा सुविधासम्पन्न रंगमञ्चको निर्माण गरिने छ ।