
काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) शिखर सम्मेलनमा विवादित सैन्य अभ्यासबारे सहमति गरिएको भन्दै सरकारको आलोचना भएको छ । प्रतिनिधीसभाको मंगलबारको बैठकमा विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले विमस्टेकको कुनै एजेण्डामा नै नभएको संयुक्त सैन्य अभ्यासको निर्णयले नेपालीहरु सशंकित भएको बताए ।
कांग्रेसका सांसद मिनेन्द्र रिजाल, दिव्यमणि राजभण्डारी लगायतले यसबारे प्रधानमन्त्रीसँग जवाफ मागे । सांसदहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यो सैन्य अभ्यास नभएर क्षमता अभिवृद्धि भएको स्पष्ट पार्नु भयो । मन्त्री भैसकेका माननीयले पनि यो कुरा नबुझेर जस्तै प्रश्न गर्नुभयो प्रधानमन्त्रीको भनाइ छ ।
कर्मचारी समायोजन सकस !
सरकारले कार्तिकदेखि स्थानीय तह र प्रदेशमा कर्मचारी समायोजनको प्रकृया अघि बढाउने भएको छ । कर्मचारी समायोजनको गाँठो फुत्काउन नसकिरहेको समयमा फेरी तीन महिनाभित्र कर्मचारी समायोजन गर्ने लक्ष्य लिइएको हो । कर्मचारी समायोजन गर्न नसक्दा संघीयताको कार्यान्वयनमा केन्द्र सरकार निकै बाधक रहेको प्रदेश र स्थानीय तहबाट निरन्तर आलोचना खेप्नु परिहेको अवस्थामा सो लक्ष्य लिएर गृहकार्य अघि बढाइएको बुझिएको छ ।
संघीय निजामती सेवा ऐन संसद्बाट पारित भएपछि कर्मचारी समायोजन थाल्ने योजनाअनुरुप सो लक्ष्य राखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघीय निजामती ऐन पारित भएपछि समायोजन प्रक्रिया अघि बढाउनेछौं –मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भन्नुभयो । कार्तिकदेखि पुस मसान्तसम्म स्वीकृत दरबन्दी अनुसार आवश्यक कर्मचारीहरूको व्यवस्था भइसक्ने उहाँको भनाइ थियो । संघीय निजामती सेवा ऐनको मस्यौदा छलफलका लागि भर्खरै मन्त्रिपरिषद्मा पठाइएको छ । मन्त्रालयका अनुसार असोज मसान्तसम्ममा संघीय निजामती सेवा ऐन संसद्मा स्वीकृत भएर आउने छ ।, नेपाल समाचारपत्रमा खबर छ ।
नयाँ पत्रिकाका अनुसार कर्मचारीको बढुवा क्षमताभन्दा बढी उमेरका आधारमा गर्ने तयारीमा सरकार लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा ९० प्रतिशत बढुवा ज्येष्ठताका आधारमा र १० प्रतिशत मात्रै आन्तरिक प्रतिस्पर्धामा गर्ने व्यवस्था राखिएको हो ।
सरकारको यस्तो निर्णय निजामती प्रशासनको भविष्यका लागि घातक हुने भन्दै कर्मचारीहरूले आपत्ति जनाएका छन् । संघीय निजामती सेवा ऐनको विधेयकले निजामती सेवालाई झनै सुस्त र भद्दा बनाउने कर्मचारीहरूको ठहर छ । उनीहरूले कार्यसम्पादन क्षमतालाई बढुवाको मुख्य आधार बनाउनुपर्ने माग गरेका छन् ।
‘हिजो जुन–जुन कारण सार्वजनिक प्रशासन बदनाम भयो, विधेयकले ती प्रावधानहरूलाई झनै प्रोत्साहित गर्ने गरी मस्यौदामा समेटेको छ,’ एक अधिकृतले भने, ‘बढुवा हुन योग्यता, क्षमताको आधारमा भन्दा गाला चाउरी पार्नुपर्ने भयो । यसमा हाम्रो आपत्ति छ ।’ मन्त्रालयले मस्यौदामा कर्मचारीको अनिवार्य अवकाश उमेर ५८ वर्ष प्रस्ताव गरेको छ ।
निगमको मासिक घाटा बढ्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिका कारण नेपाल आयल निगमको मासिक घाटा ह्वात्तै बढ्ने भएको छ । गत महिना निगमको मासिक घाटा रु १४ करोड ४२ लाख रहेको थियो ।
इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त पछिल्लो मूल्यसूचीअनुसार निगमको मासिक घाटा रु ६४ करोड पुग्ने कामु प्रबन्ध निर्देशक सुशील भट्टराईले जानकारी दिए । सेप्टेम्बर १ मा आइओसीबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार समग्रमा निगमलाई १५ दिनमा करीब रु ३१ करोड ५९ लाख घाटा हुने देखिन्छ । अमेरिकी डलरसँग नेपाली मुद्राको लगातारको अवमूल्यनले गर्दा शतप्रतिशत आयात मात्र गर्ने निगमको घाटा ह्वात्तै बढ्ने भएको हो ।
बलात्कारी जोगाउने एसपीलाई जनसेवाश्री
बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । उनले प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए । गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय कारबाही गरेको थियो । उनै माझीले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको भन्दै राष्ट्रपतिको हातबाट विभूषण ग्रहण गरेका छन् ।, नयाँ पत्रिकामा खबर छ ।
शहरी विकास मन्त्रालयलाई विवरण पेश गर्न निर्देशन
प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले शहरी विकास मन्त्रालयलाई कार्यक्रम र योजनामा भएको खर्चको यथार्थ विवरण १५ दिनभित्र समितिसमक्ष उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले मन्त्रालतअन्तर्गतका कार्यक्रममा भएको सम्पूर्ण खर्चको यथार्थ विवरण, खर्चअनुरूप कार्य सम्पादन हुन नसक्नुका कारण, लगानीअनुरूपको प्रतिफल नदेखिँदा अनियमितताको आशङ्का नगर्नुपर्ने भए उक्त कारणलगायत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
बैठकले शहर विकाससम्बन्धी एशियाली मापदण्डभित्र नेपालका शहर पर्दछन्, साथै काठमाडौँ उपत्यकाको जनसङ्ख्या बहन गर्ने क्षमता र मन्त्रालयको अल्पकालीन एवम् दीर्घकालीन विस्तृत कार्यक्रमसम्बन्धी विवरण १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
संशोधन प्रक्रिया अघि बढाउन अल्टिमेटम
नेपाल चिकित्सक संघले एक हप्ता भित्र मुलुकी अपराध (संहिता) ऐन, २०७५ संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएको छ । सरकारसँग भएको सहमति अनुसार एक हप्ताभित्र मुलुकी अपराध (संहिता) ऐन, २०७५ संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएको संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिए ।
आगामी सोमबार भित्र सो ऐनको संशोधन प्रक्रिया अघि नबढाए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने उनको भनाइ छ । पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले आगामी सोमबारसम्म संघीय संसदमा मुलुकी अपराध ऐन संशोधन प्रस्ताव दर्ता नभए मंगलबारबाट पुनः आकस्मिक बाहेकका अस्पतालका सबै सेवा ठप्प पार्ने चेतावनी दिए ।
मानवअधिकार समितिको कार्यविधि पारित
प्रतिनिधिसभा कानून, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ । उपसमितिले तयार पारेको कार्यविधिलाई परिमार्जनसहित पारित गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । कार्यविधिमा न्याय परिषद, राष्ट्रिय मानवअधिकार आयोग, महान्यायाधिवक्ताको कार्यालय, न्याय सेवा आयोगको कामको अनुगमन, निरीक्षण र आवश्यक निर्देशन दिने व्यवस्था गरिएको छ ।
एक हजारभन्दा बढी घर उच्च जोखिममा
चितवनस्थित नारायणी नदीले पश्चिम चितवनको न्युरे चोकमा लगाइएको तटबन्ध भत्काएपछि एक हजारभन्दा बढी घर उच्च जोखिममा परेका छन् । भरतपुर महानगरपालिका–२७ र २८ को बीचमा सय मिटर तटबन्ध बगाएर नदीले छेउको जमीन कटान गरिरहेकाले त्यसबाट एक हजार २०० घर उच्च जोखिममा रहेको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए ।
नजिकैका दुई घर स्थानान्तरण गरिएको र अन्य केही घर स्थानान्तरण गर्ने क्रममा रहेको पनि उनले बताए । नदीले कटान गरिरहेका ठाउँमा जाली र बोरामा बालुवा, ढुङ्गा, गिट्टी भरेर नियन्त्रण गर्ने काम भइरहेको छ ।
२ किलो नक्कली सुनसहित ६ जनालाई पक्राउ
महागनरीय प्रहरी परिसर, काठमाडौंले २ किलो नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भइ कोटेश्वर बस्दै आएका अभिषेक तामाङ, नुवाकोटका राम तामाङ, धादिङका राज तामाङ, नुवाकोट घर भइ सोह्रखुट्टे बस्दै आएका जितेन तामाङ, नेपालटार बस्दै आएका विरेन्द्र तामाङ र धादिङकै राजकुमार तामाङ छन् । उनीहरुलाई प्रहरीले नागढुंगामा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जनाएको छ ।
यस्तै प्रहरीले अवैध रूपमा राखिएको दुई किलो ७६ ग्राम सुन र चार किलो चाँदी बरामद गरेको छ । नारायणगढस्थित पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलबाट सो परिमाणको सुन र चाँदी बरामद गरिएको हो ।
नेपाल प्रहरी ३ नं प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले प्राप्त सूचनाका आधारमा पसल सञ्चालक भारत घर भएका राजेन्द्र शिवाजी पटेललाई सो परिमाणको सुन चाँदीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नेपाल पाकिस्तानसँग पराजित
साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको छ । बङ्गलादेशको ढाकामा सम्पन्न प्रतियोगितामा नेपाल पाकिस्तानसँग अन्तिम मिनेटमा पराजित भएको हो ।
पाकिस्तानका मोहमद अलीले खेलको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाए । पहिलो हाफमा एक–शून्यले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपालले बराबरी गोल गरेको थियो । नेपालका लागि बिमल घर्तिमगरले ८२ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।
जीतसँगै समूह ‘ए’ मा पाकिस्तानले तीन अङ्क जोडेको छ । नेपालले आगामी बिहीबार भूटान र शनिबार बङ्गलादेशको सामना गर्नेछ ।
एसिया कपमा छनोट हुन नेपाल असफल
नेपाल एसिया कप क्रिकेट प्रतियोगितामा छनोट हुन असफल भएको छ । मलेसियामा भएको छनोट प्रतियोगितामा खेलेका ५ मध्ये ३ खेल हारेपछि नेपालको एसिया कप खेल्ने सम्भावना टरेको हो ।
यससँगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट राष्ट्रसँग खेल्ने मौका गुमेको छ । छनोटको अन्तिम खेलमा मंगलवार नेपाल हङकङसँग ३ विकेटले पराजित भयो । ९६ रनको झिनो विजयी लक्ष्य हङकङले ३२ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा र्गयो ।