१४ असार २०८३, आइतबार

तरकारी बालीमा शंखेकिराको रजाइँले किसान चिन्तित

भदौ २०, २०७५
तरकारी बालीमा शंखेकिराको रजाइँले किसान चिन्तित

बुटवल – रूपन्देहीमा तरकारी बालीमा शंखेकिराले रजाइँ गरेपछि किसान चिन्तित बनेका छन् ।

वर्षायाममा लगाइने तरकारीमा शंखेकिराको प्रकोप देखिएको हो । शंखेकिराले फलफूलका विरुवामा समेत क्षति पुर्याउने गरेको छ । शंखेकिराले तरकारी बालीको बोट काट्ने, पात तथा डाँठ खाने गर्छ ।

‘शंखेकिराले एकै दिनमा तरकारी खत्तम बनाइदिन्छ,’ तिलोत्तमा नगरपालिका–१५ का किसान शंकर केवटले भने, ‘हामी किसानले यो किराबाट धेरै दुःख पाएका छौं ।’ 

तिलोत्तमा–९ का वडाध्यक्ष नारायण न्यौपानेले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा फोटो र स्टाटस राखे । उनको त्यो फोटो र स्टाटस शंखेकिरासँग सम्बन्धित थियो । शंखेकिराबाट आजित भएका उनले आफ्नो तरकारीबारीबाट ४५ मिनेटमा झण्डै ८ किलोग्राम शंखेकिरा संकलन गरेको बताए । 

‘मंगलबार बिहान तरकारीबारीमा मैले ४५ मिनेटमा भेट्टाएका शंखेकिरा । अन्दाजी ८ केजी । यसकÞो समाधान हामी सबैले खोज्नुपर्यो,’ उनले सामाजिक सञ्जालमा संकलित शंखेकिराको फोटो राखेर लेखेका छन् । उनी शंखेकिराबाट किसानहरू धेरै समस्यामा परेको जनाउँदै त्यसैको प्रतिबिम्ब स्वरुप शंखेकिराको फोटो सामाजिक सञ्जालमा राखेको बताए । 

किसान शंखेकिराबाट वर्षायाममा तरकारी जोगाउन निकै कठिन भएको गुनासो गर्छन् । रुपन्देहीका सबै स्थानमा शंखेकिराको बिगबिगी छ । विशेषगरी ओसिलो ठाउँमा लगाइएको तरकारी तथा फलफूल शंखेकिराले बढी क्षति पुर्याउने गरेको पाइन्छ ।

नेपालमा यो जीव नियन्त्रणका लागि सरकारी पक्षबाट स्पष्ट योजना ल्याएको देखिँदैन । तर, कतिपय स्थानीय तहले संकलन गरेर नष्ट गर्ने अभियान चलाएका छन् । धेरै ठाउँमा बाली नष्ट भएपछि किसानहरू आफैंले जोगाउन आ–आफ्नै तरिकाले शंखेकिरा संकलन गरेर नष्ट गर्दै आएको पाइन्छ । तिलोत्तमा–६ की पवित्रा केसी धेरैजसो किसानले शंखेकीरा संकलन गरी नुन राखेर व्यवस्थापन गर्ने प्रयास गरिएको बताउँछिन् । 

कतिपयले शंखेकिरा संकलन गरेर खाल्डोमा पुर्ने वा प्लाष्टिकमा जम्मा गरी गाडीलाई कुचाउन सडकमा फालेर नियन्त्रण गर्ने प्रयास गरेको पाइन्छ । ग्रामीण क्षेत्रका सडकमा शंखेकिरा फालिएको यत्रतत्र देखिन्छ । तिलोत्तमा नगरपालिका कृषि शाखाका कृषि प्राविधिक युवराज ढकाल शंखेकिरा खबटामा रहने भएकाले विषादी प्रयोगबाट यसको नियन्त्रण प्रभावकारी नहुने बताउँछन् ।

‘सिधै विषादी छर्कंदा शंखेकिराभन्दा अरु उपयोगी किरा मर्ने भएकाले यसलाई टिपेर नुन वा खरानु राख्नु नै उपयुक्त देखिन्छ,’ उनले भने, ‘धेरैजसो किसानले यस्तो अभ्यास गर्दै आउनुभएको छ । चिसो र ओसेपिलो ठाउँमा खरानी, धानको ढुडो हालेर खस्रो बनाइदिँदा पनि यसलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ ।’

कुनै आवाज ननिकाल्ने शंखेकिरा शाकाहारी जीव हो । ८ इन्चसम्म लम्बाइ हुने यो जीवको चौढाइ ३ इन्चसम्म हुन्छ, तौल भने २ सय ५० ग्राम वा सोभन्दा बढी हुने जानकार बताउँछन् । यो जीव बेलुकाको समयमा बढी सक्रिय हुन्छ । ‘जेइन्ट अफ्रिकन स्नेल’ नामक शंखेकिराले कृषिमा मात्र नभएर वातावरणीय र स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको विज्ञ बताउँछन् ।

बाहिरी भाग डब्बाजस्तो, चार वटा टेन्टाकल, टेन्टाकालको टुप्पोमा आँखा अनि लमकलमक गर्दै हिँड्ने शंखेकिरा जैविक विविधता, मानव स्वास्थ्य र कृषकको शत्रु बन्दै गइरहेको छ । छुन खोज्दा खबटाभित्र शरीर लुकाउने यो जीव तराई तथा मध्यपहाडी क्षेत्रमा व्यापक रूपमा पाउन थालिएको छ । पूर्वी अफ्रिकाको रैथाने यो जीव भारतको कलकत्ता हुँदै पूर्वी नेपालको तराई आएको बताइन्छ ।

धेरै उच्च र धेरै कम तापक्रममा नबाँच्ने भएकाले तराई र मध्यपहाडी क्षेत्रमा शंखेकिरा पाउन सकिन्छ । ‘वनमारा’ जस्तै शंखेकिरा पनि आफैंमा मिचाहा र खतरनाक जीव हो । यसलाई कतिपयले कुखुरा र माछाको आहाराका लागि प्रयोग गरेको पाइए पनि यसका बेफाइदा उत्तिकै छन् ।

ओसिलो ठाउँ खोज्दै ट्वाइलेट, बाथरुम, धारातिर आइपुग्ने यो जीवले कम्तिमा ६ प्रकारका जुकाहरू सार्ने गरेको एक शोध उल्लेख गरिएको छ । यो जीवले ग्राम नेगेटिभ बेक्ट्रिम, अइरोमोनास हाइड्रोफिला लगायत विभिन्न रोग लगाउने गर्छ । एक जोडी शंखेकिराले कयौं अण्डा पार्न सक्छ । ‘हर्मोफ्रोडाइट’ (भाले र पोथी लैंगिक कोष एउटै शरीरमा हुने) जीव भएपनि यो जीव अण्डा पार्नैका लागि अर्को किरासँग भर पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्