३१ असार २०८३, बुधबार

सिद्धार्थनगरमा फोहोरमैला व्यवस्थापन चुनौतिपूर्ण बन्दै

भदौ २०, २०७५
सिद्धार्थनगरमा फोहोरमैला व्यवस्थापन चुनौतिपूर्ण बन्दै

बुटवल – सिद्धार्थनगर नगरपालिका–२ पक्लिहवामा फालिँदै आएको फोहोर नफाल्न स्थानीयले नगरपालिकालाई चेतावनी दिएका छन् ।

विगत १० वर्षदेखि सिद्धार्थनगर नगरपालिकाले पक्लिहवास्थित डण्डानदी किनारमा फोहोर फाल्दै आएको थियो । स्थानीयको चेतावनीसँगै सिद्धार्थनगरले अब फोहोर कहाँ लगेर बिर्सजन गर्ने भन्ने टुंगो नलाग्दासम्म नगरपालिकामा फोहोरमैला व्यवस्थापनमा समस्या हुने देखिएको छ ।

सो स्थानमा फोहोर वडा नम्बर–२ ले मात्र फाल्ने र अन्य वडाको फोहोर फाल्न नदिने स्थानीयले चेतावनी दिएको सिद्धार्थनगर नगरपालिका–२ का वडाध्यक्ष दिपक थापाले बताए । ‘स्थानीयले विरोध गरिरहेका छन् । आजभोलि जतिबेला पनि अवरोध हुन सक्छ,’ थापाले भने ।

सो स्थानमा फोहोर फाल्न स्थानीयले अवरोध गरे सिद्धार्थनगर नगरपालिकाले अर्को स्थानमा फोहोर फाल्ने ठाउँ तत्काल खोज्नुपर्ने देखिएको छ । त्यस अगाडि सिद्धार्थनगर नगरपालिकाले भैरहवा–बेलहिया सडक खण्डको डण्डा नदी किनारमा फोहर फाल्दै आएको थियो ।

सिद्धार्थनगर नगरपालिकाले दीर्घकालीन समस्या समाधानका लागि एसियाली विकास बैंकको सहयोगमा ओमसतिया गाउँपालिका–५ पटखौलीमा फोहोरमैला प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको थियो ।

पछिल्लो चरणमा विभिन्न राजनैतिक दलका प्रतिनिधिले सो क्षेत्रमा फोहोरमैला प्रशोधन केन्द्र स्थापन गर्न नदिने चेतावनी दिँदै आएका छन् । सो क्षेत्र धार्मिकस्थल ओमसतिया माई मन्दिर नजिक रहेको, बस्ती, स्कूल र स्वास्थ्य चौकी लगायत सार्वजनिक महत्त्वको क्षेत्र रहेकाले सो स्थानमा कुनै पनि हालतमा फोहोर मैला प्रशोधन केन्द्र बन्न नदिने चेतावनी दिँदै आएका छन् ।

सिद्धार्थनगर नगरपालिकाले सो स्थानमा २०६८ सालमा ६ बिगाहा जग्गा खरिद गरेको थियो । ३२ करोड लगानीमा बन्ने फोहोरमैला प्रशोधन केन्द्रमा ओमसतिया गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाको फोहोरमैला व्यवस्थित गर्ने सहमति भएको थियो । सो परियोजना निर्माण गर्दा स्थानीय रोहिणी नदीको नदी कटान नियन्त्रणमा काम गर्ने, गाउँ भित्रको सडक निर्माण गर्ने, गाउँ विकास कार्यक्रमका लागि ५७ लाख खर्च गर्ने सहमति भएको थियो ।

अन्ततः स्थानीयले सो स्थानमा फोहोरमैला प्रशोधन केन्द्र निर्माण गर्न नदिने र दैनिक फोहोर फाल्दै आएको स्थान वडा नम्बर २ मा पनि फोहोरमैला फाल्न नदिने स्थानीयको चेतावनीपछि नगरपालिकामा फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या देखापर्ने देखिएको नगरपालिकाका कर्मचारीहरू बताउँछन् ।

सिद्धार्थनगर नगरपालिकाका मेयर हरीप्रसाद अधिकारीले स्थानीयले कुरा ल्याएको बताउँँदै समस्या समाधान गर्ने विषयमा सबै पक्षसँग बसेर निकास खोज्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्