
सुर्खेत – प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदाको पहिलो निर्णय थियो – दुई वर्षमा नेपाललाई तुइनमुक्त गर्ने ।
प्रधानमन्त्रीको त्यो बोली र निर्णय सार्वजनिक हुँदा दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिकाको पाल्तडावासी र अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–३ भुलु, रहफ र भैरवसथानका स्थानीयले दीप बालेर निर्णयको स्वागत गरे । तर, प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भइसक्दा समेत पाल्तडास्थित कर्णाली नदीमा रहेको तुइन हटेको छैन ।
तुर्माखाँद गाउँपालिका–३ का एक सय घरधुरीलाई अहिले बजारमा आउन जान तुइनको भर पर्नुपरेको छ । स्थानीय निरक बुढाले कर्णाली नदीमा भेल बढेको र डुंगा चलाउन नसकिने भएकाले कर्णाली वारि आउन तुइनको जोखिम मोल्न बाध्य भएको गुनासो गरे ।
‘हामीले तुइनको खतरा झेल्दै कर्णाली तर्नुपर्ने दिनको अन्त्य कहिले होला ?’ अत्यन्तै भावुक मुद्रामा लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘प्रतिव्यक्ति पचास रुपैयाँ तिरेर कर्णाली वारपार गर्नुपर्ने बाध्यता छ ।’
तत्कालीन समयमा प्रधानमन्त्री ओलीले गरेको प्रतिवद्धता हुने खाने र पहुँच हुनेका लागि मात्रै भएको उनले आरोप लगाए । ‘हामीले विभिन्न सरकारी निकाय, गैरसरकारी निकाय, स्थानीय सरकार, सांसद सबैसँग झोलुङ्गे पुल निर्माण गरिदिन हारगुहार गर्यौं,’ उनले भने, ‘चुनावताका सबैले प्रलोभन देखाए, भोट पाए जितेर गए । तर, हाम्रा माग कसैले सुनुवाइ गरेन ।’
चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित पाल्तडा बजारमा होटल व्यवसाय गर्ने जीवराज चौलागाईले अछामको उक्त बस्तीका लागि नजिकको बजार भएका कारण तत्काल पुल निर्माण गर्नुपर्नेमा जोड दिए । ‘उनीहरूलाई यहाँको बजार आउन एक घण्टा लाग्छ,’ उनले भने, ‘हाटबजार भर्न टुनिबगर जाँदा धेरै समय लाग्छ ।’
चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाहीले आफूले उक्त स्थानमा पुल निर्माण गरिदिन भन्दै संघीय सरकारका मन्त्रालयमा फाइल पेश गरिसकेको बताए । ‘हामीसँग बजेट अभाव छ । हामीले गर्न सक्दैनौं,’ उनले भने, ‘प्रधानमन्त्रीले घोषणा गर्ने तर कर्मचारीले नमानिदिँदा फाइलअघि बढ्न सकेको छैन ।’
उनले बारम्बार आफूले सम्बन्धित मन्त्रालयमा कुरा गर्दा समेत सुनुवाइ नभएको गुनासो गरे । ‘हामीले जनताको चाहना र प्रधानमन्त्रीको घोषणा बमोजिम मागसहित सम्बन्धित मन्त्रालयमा फाइल पेश गरेका थियौं,’ उनले भने, ‘कार्यान्वयन गर्ने कर्मचारीको गैरजिम्मेवारीपनका कारण त्यहाँका स्थानीयले दुःख पाइरहेका छन् ।’