
काठमाडौं — रोयटर्स समाचार संस्थाका दुई पत्रकारहरूलाई म्यान्मारको एक अदालतले सात–सात वर्षको कारावास सजाय सुनाएपछि उनीहरूका पत्नीहरू स्तब्ध भएका छन् ।
राज्यको रहस्य हात पारेको अभियोगमा ती पत्रकारद्वयलाई कारावास सजाय दिइएको थियो ।
वा लोन र क्य सो ऊ नामक ती पत्रकारहरूलाई सोमवार कारावास सजाय दिइएपछि त्यो अन्यायपूर्ण फैसला भएको भनी चौतर्फी आलोचना भएको छ ।
ती पत्रकारहरूले म्यान्मार सेनाले विद्रोहविरुद्ध चलाएको हिंस्रक अभियानको रिपोर्टिङ गरेका थिए । सेनाको अभियानपछि अल्पसंख्यक मुसलमान रोहिंग्या शरणार्थीहरू बंगलादेशतर्फ भागेका थिए ।
रोहिंग्याको विषय म्यान्मार सरकार संवेदनशील छ किनकि सेनाले गरेको भनिएको मानवअधिकार उल्लंघनको विश्वभरि निन्दा भएको छ । म्यान्मार सेनाले भने सबै आरोप खण्डन गर्दै आएको छ ।
वा लोनकी पत्नी पान ई मोनले एक पत्रकार सम्मेलनमा आफ्ना पतिलाई यति कठोर सजाय दिइएला भन्ने नलागेको बताइन् । ‘उनीहरूले कुनै गल्ती गरेका छैनन् भन्ने सबैलाई थाहा छ,’ उनले भनिन् ।
दुई पत्रकारले आफूलाई प्रहरीले फसाएको भनी बयान दिए ।
पानले अगस्ट १० तारिखमा छोरी जन्माइन् तर उनका पतिले छोरीको अनुहार हेर्न पाएका छैनन् ।
‘मैले छोरी जन्माएपछि छोरी र बुवाको मिलन छिट्टै हुन्छ भन्ने दह्रो आशा राखेकी थिएँ । तर हिजोको फैसलाले मेरा आशाहरू चुँडाइदिए । म निराश भएको छु,’ उनले भनिन् ।
के सो ऊकी पत्नी चित सुले पनि आफ्ना पति घर फर्कने आशा गरेको बताइन् । उनीहरूको चाहिँ तीन वर्षीया एक छोरी छिन् ।
‘उनलाई थुनामुक्त गरिनेछ भन्ने मेरो विश्वास थियो,’ उनले भनिन्, ‘तर त्यसो भएन । अब बौलाहा जस्ती भइसकें ।’
उनी राज्यबाट दयाको आशा गरेर बसेकी छन् । तर आफ्ना पतिले पत्रकारको दायित्व निर्वाह गरेकोमा उनलाई गर्व छ । 
पत्रकारहरूका वकिलले आफ्नो पक्षलाई कारागारमुक्त गर्नका लागि सबै प्रयास गर्ने बताए । उनीहरूले पुनरावेदनका लागि वा क्षमायाचनाका लागि निवेदन दिन सक्छन् वा कैदीहरूलाई दिइने आममाफीअन्तर्गत उनीहरूलाई रिहा
गर्न सकिनेछ ।
पान ई मोनले देशकी सर्वोच्च नेत्री आङ सान सु कीले दुई पत्रकारलाई आधिकारिक गोप्यता ऐन तोडेको आरोपमा पक्राउ गरिएको न कि उनीहरूले सेनाको अत्याचारको खुलासा गरेकाले भनी जापानी टीभी एनएचकेलाई अन्तर्वार्ता
दिएकोमा चित्त दुखाइन् ।
‘म उनको उत्तरबाट निकै उदास भएँ किनकि मैले उनलाई सधैं प्रशंसा र सम्मान गरेकी थिएँ,’ उनले भनिन् ।
‘हामी उनलाई निकै माया र सम्मान गर्थ्यौं,’ उनले थपिन्, ‘हामीले सम्मान गरेको व्यक्तिले हामीप्रति गलत धारणा राखेकोमा हामी अत्यन्तै उदास छौं ।’
टाइम पत्रिकाबाट