२६ असार २०८३, शुक्रबार

गाउँपालिकाको विद्यालयमा ‘बोल्ने कलम’ ! अब हावाबाट बिजुली निकालिने [भिडियोसहित]

भदौ २१, २०७५
गाउँपालिकाको विद्यालयमा ‘बोल्ने कलम’ ! अब हावाबाट बिजुली निकालिने [भिडियोसहित]

सुर्खेत – सुर्खेत जिल्लाको पूर्वी भेगमा पर्ने सिम्ता गाउँपालिकाले उज्यालो सिम्ता कार्यक्रममार्फत् सिम्ताको दुई स्थानमा हावाबाट बिजुली निकाल्नेबारे सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

सिम्तामा अझै बिजुली नपुगेको र समृद्धिको प्रमुख आधारको रुपमा बिजुलीलाई लिइएको भन्दै गाउँपालिकाले आगामी ४ वर्षभित्र सिम्ताको सबै ठाउँमा बिजुली पुर्याउने लक्ष्य लिएको छ । ‘हामी अहिले हावाबाट बिजुली निकाल्ने योजनाको डीपीआर निर्माणको क्रममा छौं,’ सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले भने, ‘कुन ठाउँमा कति बिजुली निकाल्न सकिन्छ, हामी त्यहीँ अनुसार अघि बढ्ने छौं ।’

उनले सिम्ताको देउली र खानीखोलाको पानीहाल्नामा हावाबाट बिजुली निकाल्ने गरी सम्भाव्यता अध्ययन भइरहेको बताए । सिम्ता गाउँपालिकालाई उज्यालो बनाउन विभिन्न साझेदार संस्थासँग मिलेर लघु जलविद्युत् परियोजना समेत निर्माण गर्ने अध्यक्ष केसीले लोकान्तरलाई बताए ।

‘हाम्रो लोकप्रिय कार्यक्रम उज्यालो सिम्ता बनाउन हामीले स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गर्ने छौं,’ उनले भने, ‘त्यहीँ सपना साकार पार्न हामीले गाउँपालिकाको खानीखोलामा १२ किलोवाट र करीब १५ सय घरधुरीका लागि काफलकोटमा लघु जलविद्युत् आयोजना निर्माण गर्ने छौं ।’ उनले दुवै योजनाको डीपीआर बनिसकेको र यसै वर्षबाट काम शुरू गरिने बताए ।

गोबर ग्यास प्राथमिकतामा

अध्यक्ष केसीका अनुसार गाउँपालिकाको प्रतिघर ५ हजार अनुदान र अन्य साझेदारको सहयोगमा गत वर्ष ६० घरमा गोबर ग्यास जडान गरिएको छ । ‘गत वर्ष हामीले गाउँपालिकाका ६० भन्दा बढी घरमा गोबर ग्यास निकालिसकेका छौं,’ उनले भने, ‘यो वर्ष पनि यो कार्यक्रमलाई हामीले निरन्तता दिएका छौं । जनताको स्वास्थ्य राम्रो होस् भन्ने चाहनाका कारण हामीले गोबर ग्यास निकाल्ने गरेका हौं ।’

उनले गोबर ग्यासमय सिम्ता बनाउन सके बाहिरबाट आयात गरिने ग्यासलाई पूरै विस्थापित गराउन सकिने बताए । ‘गोबरबाट ग्यास उत्पादनलाई बढावा दिन सके गाउँमा भएको रकम ग्यास खरिदमा बाहिर जाँदैन,’ उनले भने, ‘त्यस्तो हुँदा गाउँ आत्मनिर्भरतातर्फ उन्मुख हुने मेरो अपेक्षा छ ।’

सबै वडामा बिजुलीका पोल विस्तार

सिम्ता गाउँपालिकाले उज्यालो सिम्ता अभियानका लागि गत आर्थिक वर्षमा तीन करोड विनियोजन गरेको थियो । गाउँपालिकाले यो वर्षको बजेटमा पनि कार्यक्रमलाई यथावत् नै राखेको छ । अध्यक्ष केसीका अनुसार गत वर्षको बजेटले सिम्ता गाउँपालिका–३, ४ र ५ का वडा केन्द्रमा बिजुलीको लाइन पुगिसकेको छ ।

वडा नम्बर ५, ६ र ७ मा बिजुली बलिसकेको छ । ‘आगामी चार वर्षमा सिम्ताको सबै क्षेत्रमा बिजुली पुर्याउने लक्ष्य गाउँपालिकाको छ,’ अध्यक्ष केसीले भने, ‘यसका लागि थप आवश्यक पर्ने बजेट केन्द्रीय मन्त्रालय र विभागसँग साझेदार गर्ने गरी हामी अघि बढेका छौं ।’

उनले वडा नम्बर २ बाहेक सबै स्थानमा एक–दुई वर्षमै बिजुलीको लाइन विस्तार गर्ने गरी गाउँपालिका अघि बढेको बताए । ‘वडा नम्बर २ मा यो वर्ष पनि पोल गाड्ने काम हुनेछ,’ उनले थपे, ‘तर, अन्य वडाका केही भूभाग बाहेक हामीले बिजुली एक–दुई वर्षमा बाली सक्ने छौं ।’

बेरोजगारी हटाउन संस्थागत संरचना

अध्यक्ष केसीले गाउँपालिकामा रहेको विद्यमान बेरोजगारी हटाउन गत एक वर्षमा संस्थागत संरचना निर्माणको कार्य धेरै सकिएको बताए । ‘बेरोजगारी समस्या न्यूनीकरण गर्न हामीले संस्थागत संरचना निर्माण गर्ने कार्य अन्तिम चरणमा पुर्याएका छौं,’ उनले भने, ‘तिनै संरचनाबाट आएका सुझावहरू, ती संरचनाको आवश्यकताको आधारमा गाउँपालिका अन्य साझेदार निकायसँगको सहकार्यमा अघि बढ्ने छ ।’

गाउँमा महिला समूह, युवा सांसद, टोल समूह, बस्ती समूह, बाल समूह जस्ता संयन्त्रलाई परिचालन गर्ने र उनीहरूको आवश्यकता अनुरुप कार्यक्रम बनाएर बेरोजगारी समस्याको हल खोज्ने गाउँपालिकाको तयारी रहेको उनले बताए । ‘हामी समृद्ध सिम्ता निर्माण गर्न चाहन्छौं । त्यसको सबैभन्दा ठूलो चुनौती भनेको बेरोजगारी समस्या नै हो,’ उनले भने, ‘चुनौती पार गर्न र समृद्धि ल्याउन गाउँबस्तीमा रहेका विभिन्न समूहहरूको आवश्यकतालाई मध्यनजर गर्दै हामी लगानी गर्ने छौं ।’

प्राथमिक विद्यालयमा ‘बोल्ने कलम’

प्राथमिक शिक्षा सुधार गर्न भन्दै गाउँपालिकाले नौ वटा प्राथमिक विद्यालयमा बोल्ने कलम प्रविधि भित्र्याएको छ । ‘प्राइमरी टकिङ्ग टिचर’ प्रविधि गाउँपालिकाका ९ वडामध्ये नमूना प्राथमिक विद्यालयमा प्रयोगमा ल्याइसकेका छौं,’ अध्यक्ष केसीले भने, ‘११ वटा माध्यमिक विद्यालयमा इलेक्ट्रोनिक हाजिरी सिस्टमसमेत लागू गरिसकेका छौं ।’

बाआमाका लागि बृद्धाश्रम

अध्यक्ष केसीले गाउँपालिकामा रहेका बृद्ध आमाबुवाका लागि बृद्धाश्रम खोलिने बताएका छन् । ‘हामीले गाउँपालिकाभर रहेका बृद्धा बाआमाका लागि बृद्धाश्रम खोल्ने योजना बनाएका छौं । चालू आर्थिक वर्षमा नै उक्त कार्य शुरू गर्ने छौं,’ अध्यक्ष केसीले भने, ‘ती आश्रममा धर्मकर्म सम्बन्धी कार्य, मनोरञ्जन प्रदान गरिने छ ।’ उनले बृद्धाश्रम खोल्नुको प्रमुख कारण बृद्धालाई निराश नबनाई उनीहरूलाई फुर्तिलो बनाउने रहेको बताए ।

आवासीय विद्यालय सञ्चालन

सिम्ता गाउँपालिकाले दृष्टिविहीन तथा अन्य शारीरिक अस्वस्थता भएका विद्यार्थीका लागि आवासीय विद्यालय सञ्चालनमा ल्याएको जानकारी दिए । ‘शारीरिक रुपमा अशक्त वा कमजोर भएका विद्यार्थीको शिक्षादीक्षाका लागि गाउँपालिकाको पाँच लाख बजेटमा आवासीय विद्यालय हामीले सञ्चालनमा ल्याइसकेका छौं ।’

अध्यक्ष केसीले भने, ‘विद्यालयमा दृष्टिविहीनले दृष्टिविहीनलाई, अन्य अपाङ्गता भएकालाई सोही अपाङ्गता भएका व्यक्तिले अध्यापन गराइरहेका छन् ।’ विद्यालयमा सल्यान, जाजरकोट र सिम्ताका विद्यार्थी अध्ययन गरिरहेका छन् ।

पहुँच मार्गको स्तरवृद्धि गरिने

सिम्ता गाउँपालिकाको मेरुदण्डको रुपमा निर्माण गर्न लागिएको पहुँच मार्गको स्तरोन्नति गर्न गाउँपालिकाले चालू आर्थिक वर्षमा साढे दुई करोड बजेट विनियोजन गरेको छ । बजेटबाट दुई लेनको सडकमा नाला बनाउने र ग्राभेल गर्ने योजना रहेको अध्यक्ष केसीले बताए । 

जनतासँग सिम्ता कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायत सबै कार्यक्रम पारिएको उनले बताए ।

भिडियाेमा हेर्नुहाेस् बाेल्ने कलम,

salt training

कमेन्ट गर्नुहोस्