काठमाडौं, २९ मंसिर — संसारमा यस्तो पनि होटेल छ जसमा बस्दा एकैचोटि दुई देशमा बसिन्छ । युरोपको यो होटेलको दुई दुईवटा ठेगाना छ । जेनेभाको ला क्युर इलाकामा रहेको अर्बेज होटेल फ्रान्स र स्विट्जरल्यान्ड दुवैमा पर्छ । दुई देशको सीमाक्षेत्रको बीचमा छ यो होटेल ।

रमाइलो कुरा त होटेलको एक छेउबाट अर्को छेउ जाँदा अर्को देशमा पुगिन्छ । सन् १८६३ मा फ्रान्स र स्विट्जरल्यान्ड सरकारले आफ्नो बोर्डरमा परिवर्तन गर्ने निर्णय गर्दा होटेल यसरी रहन पुग्यो ।
सरकारले सीमाक्षेत्र परिवर्तन गर्ने औपचारिक निर्णय लिनुअघि नै स्थानीय व्यापारी अल्फोन्से पोन्थसले यहाँ पसल खोल्ने फैसला गरे । पछि अर्का व्यापारीले यसलाई होटेल बनाए जुन नयाँ बोर्डरको दुवैतिर रहन पुग्यो ।

फ्रान्स र स्विट्जरल्यान्डलाई छुट्याउने रेखा होटेलको बीचमै पर्छ । अन्तर्राष्ट्रिय सीमा किचनमा छ र भवनको पछिल्लो भागमा पुग्छ । त्यहाँ स्की पसल छ । पाहुना बस्ने धेरै कोठा सीमामै पर्छन् । स्विट्जरल्यान्डमा खुट्टा पारेर फ्रान्समा टाउको पार्न मिल्छ । एउटा कोठा चाहिँ स्विट्जरल्यान्डमा पर्छ अनि बाथरूम चाहिँ फ्रान्समा । शौच गर्न अन्तर्राष्ट्रिय सीमा पार गर्नुपर्छ ।
एजेन्सी