
काठमाडौं–गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दामा सफाइ पाएका छविलाल पौडेल सोमबार रिहा भएका छन् । फुजेल काण्डमा सफाइ पाएका पौडेललाई स्वागत गर्न नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डिल्लीबजार कारागार जाने भनिए उनी गएनन् ।
यसअघि स्वागत गर्न अध्यक्ष प्रचण्ड जाने तयारी भएको थियो । तर, विशेष कारणबस प्रचण्ड स्वागतका लागि नगएको सचिवालयले जनाएको छ । जिल्ला अदालत चितवनले फुजेल काण्डका १३ जना प्रतिवादीमध्ये १२ जलाई सफाइ दिने फैसला आइतबार गरेको थियो । सोसँगै फुजेलकै पौडेल रिहा भएका हुन् ।
उनी डिल्लीबजारस्थित कारागारबाट रिहा हुँदा सयौं फुजेलबासी र नेकपाका कार्यकर्ताहरुले बाजागाजासहित स्वागत गर्न पुगेका थिए । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका बेला २४ जेठ २०६१ मा गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्या भएको थियो ।
मृतक कृष्णका बुवा नन्दप्रसाद छोराका हत्या भएको भन्दै २४ जेठ २०६१ मा जिल्ला प्रहरी कार्यालय चितवनमा जोहरी दिएका थिए ।