
बुटवल – रूपन्देही काठमाडौंपछि सबैभन्दा धेरै उद्योग भएको जिल्लामा पर्छ । रूपन्देहीको बुटवल ५ नम्बर प्रदेशको अस्थायी राजधानी घोषणा भएसँगै रूपन्देहीसँगै प्रदेशमा औद्योगिक क्षेत्रमा लगानी हवात्तै बढेको छ ।
उचित भूगोल, व्यापारिक नाकाको सहजताका कारण प्रदेशमा लगानीकर्ता आकर्षित भएका हुन् । प्रदेशका रुपन्देही, बाँके, दाङ, नवलपरासी पश्चिम, कपिलवस्तुमा उद्योग बढी केन्द्रीत छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा मात्र प्रदेशमा ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपंयाँ उद्योगमा लगानी भएको छ । गत आर्थिक वर्षमा उद्योगमा भएको लगानी अघिल्लो आर्थिक वर्ष २०७३÷७४ को भन्दा ७० प्रतिशतले धेरै हो ।
प्रदेशमा बुटवल औद्योगिक क्षेत्र र नेपालगञ्ज औद्योगिक क्षेत्र छन् । संघीय सरकारले बाँके र रुपन्देहीमा थप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाइसकेको छ । उद्योग खोल्न चाहनेको संख्या बढेपछि प्रदेश सरकारका साथै स्थानीय सरकारले समेत औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएका छन् ।
‘उद्योग प्रदेश समृद्धिको एउटा महत्त्वपूर्ण आधार रहेकाले औद्योगिक वातावरण र लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी भन्छन्, ‘मोतीपुरमा बन्न लागिरहेको प्रदेशस्तरीय औद्योगिक क्षेत्र, भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) र विभिन्न करिडोरमा रहेका उद्योग, दाङको भर्ना औद्योगिक क्षेत्र, बाँकेको नयाँ औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने र तिनलाई सुरक्षाको वातावरण बनाउनेतर्फ प्रदेश सरकार केन्द्रित रहेको छ ।’
मन्त्रालयको तथ्यांकअनुसार प्रदेशमा आर्थिक वर्ष २०७४/७५ मा लगानीकर्ताले ५३ नयाँ ठूला उद्योगमा लगानी गरेको देखिन्छ । उद्योगमा भएको कुल लगानीमध्ये ४ अर्ब ३८ करोड २९ लाख १० हजार ३ सय रुपैंयाँ वैदेशिक लगानी रहेको छ । यो कुल लगानीको १२ दशमलब ९४ प्रतिशत हो ।
आर्थिक वर्ष २०७४/७५ मा रुपन्देहीमा सबैभन्दा बढी १७ वटा नयाँ ठूला उद्योग थपिएका छन् । ठूला उद्योग हुने जिल्लामा रुपन्देही अग्रणी हो । नवलपरासीमा १३, कपिलवस्तु र बाँकेमा ७/७, बर्दिया र दाङमा ३/३ नयाँ उद्योग दर्ता भएका छन् । रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी रुपन्देही र आसपासको क्षेत्रलाई हरेक हिसाबले उद्योगीले सुरक्षित ठानेकाले औद्योगिक लगानी बढेको बताउँछन् ।
‘नयाँ औद्योगिक क्षेत्रको काम छिटो सम्पन्न गरिएमा यहाँ उद्योगीहरुको थप आकर्षण बढ्ने थियो,’ उनी भन्छन् । रुपन्देहीको तिलोत्तमा–८ प्रदीपनगरस्थित जयशिवशक्ति वाटर इन्डस्ट्रिजका सञ्चालक सुनिलकुमार जैसवाल औद्योगिक विकासका सन्दर्भमा सबैको समान धारणा हुनुपर्ने बताउँछन् ।
औद्योगिक विकासका लागि कस्ता छन् प्रदेश सरकारका योजना ?
प्रदेश सरकारले औद्योगिक क्षेत्रको विकासमा जोड दिइ रोजगारी सिर्जना गर्ने नीति लिएको छ । प्रदेश सरकारले बाँकेको नौवस्तामा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको लागि चालू आर्थिक वर्षमा ५ करोड बजेट विनियोजन गरेको छ । ठूला उद्योग नेपालगञ्जतर्फ आकर्षित गर्ने नीति लिई त्यसलाई औद्योगिक शहरको रुपमा विकास गर्ने र संघीय सरकारबाट रुपन्देहीको मोतिपूरमा स्थापना गर्न लागेको औद्योगिक क्षेत्रको लागि सहयोग गर्ने प्रदेश सरकारको नीति छ ।
गाउँ–गाउँसम्म उद्योगधन्दा विस्तार गर्ने, स्थानीय तहसँग सहकार्यमा एक स्थानीय तह एक औद्योगिक ग्रामको सम्भावना अध्ययन गर्ने नीति प्रदेश सरकारको छ । सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा ६० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले स्थानीय तहमा उद्यम विकासको लागि १ करोड ५५ लाख विनियोजन गरेको छ । संघीय सरकारको समन्वयमा दाङ, परासी, बर्दिया र कपिलवस्तुमा औद्योगिक कोरिडरको सम्भाव्यता अध्ययन गरिने प्रदेश सरकारको योजना छ ।
सरकारले गरीबी निवारणको लागि लघुउद्यम कार्यक्रम र घरेलु तथा साना उद्योग विकासका लागि २ करोड ४० लाख विनियोजन गरेको छ । ढुंगा, बालुवा र स्लेट खानी क्षेत्रको सम्भावना अध्ययन गरिने, प्रदेशस्तरमा खाद्यान्न, औषधी, पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यकीय वस्तुको संकटकालीन मौज्दातको विशेष व्यवस्था गरिने सरकारको योजना छ ।
स्थानीय सरकार औद्योगिक ग्रामको तयारीमा
स्थानीय तहले पनि औद्योगिक विकासका लागि औद्योगिक ग्राम बनाउनका लागि आवश्यक पहल थालेका छन् । खासगरी नगरपालिकाहरुले नगरमा साना तथा घरेलु उद्योग स्थापनाका लागि उचित वातावरणको व्यवस्थापन गर्न औद्योगिक ग्रामको काम अघि बढाएका हुन् । औद्योगिक ग्राम स्थानपनाका लागि संघीय र प्रदेश सरकारले सहयोग गर्ने भएपछि स्थानीय तह त्यसप्रति हौसिएका छन् ।
संघीय सरकार औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक निर्देशिका बनाउने गृहकार्यमा छ । चालू आर्थिक वर्षमा मुलुकका १ सय ४० स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने संघीय सरकारको लक्ष्य छ ।