
काठमाडौं — संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
संसद सचिवालय सिंहदरबारमा सोमवार बिहान बसेको बैठकले मिश्रको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
‘सर्वोच्चको प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रले समितिमा पेश गरेको कार्ययोजनामा समितिले सधैँ उठाउँदै आएको अदालतभित्रको विसंगति, विकृति र बिचौलिया समाप्त गरेर शून्यमा झार्ने कुरा गर्नुभयो,’ बैठकको निर्णय सुनाउँदै समितिको सभापतित्व गरेका जेष्ठ सदस्य कर्णले भने, ‘अदालतमा लम्बिइराखेको मुद्दाको फैसला छिट्टै हुन्छ भन्ने कुराको विश्वास तथा उहाँको योग्यता, क्षमता र कार्यदिशा सबैलाई हेरेर संवैधानिक परिषद्को सिफारिशलाई सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेका हौं।’

संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेसँगै प्रधानन्यायाधीश नियुक्तिका लागि राष्ट्रपतिलाई बाटो खुलेको छ । संवैधानिक परिषद्को सिफारिश संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।
त्यसअघि समितिमा आफ्नो योजना पेश गर्दै कामु प्रधानयायाधीश मिश्रले कार्यकाल छोटो भएपनि अदालतको साख अभिवृद्धिका लागि काम गर्ने बताएका थिए ।
सुनुवाइका क्रममा समिति सदस्यहरूले मिश्रसँग अदालतमा हुने ढिलासुस्ती, अनियमितता लगायतका विषयमा प्रश्न गरेका थिए ।
संवैधानिक परिषद्को भदौ ७ गते बसेको बैठकले मिश्रलाई सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।
यसअघि परिषद्बाट सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीको नाम सुनुवाइ समितिले अस्वीकृत गरेको थियो ।