
धनगढी– आदिवासी थारु समुदायले अट्वारी पर्वमा सार्वजनिक विदाको माग गर्दै प्रदेश–७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई आज (साेमवार) ज्ञापन पत्र बुझाएका छन् ।
भदौ ३१ गते पर्न गएको अट्वारी पर्वमा एक दिन सार्वजनिक विदाको माग गर्दै प्रदेश नं. ७ का आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहमार्फत मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका हुन् ।
कैलाली जिल्ला क्रियाशिल थारु कल्याणकारिणी सभा (थाकस), थारु नागरिक समाज, थारु विद्यार्थी समाज, थारु पत्रकार संघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), मुक्तकमैया समाज, कमैया प्रथा उन्मुलन समाज, मुक्तकमैया महिला विकास मञ्च, मुक्तकमलरी विकास मञ्च, ब्याक वार्ड सोसाइटी एजुकेसन बोर्ड (बेस)लगायत संघ संस्थाहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।
भदाै शुक्ल पक्षको पहिलो आइतवार अर्थात भदौ ३१ गते पर्न गएको अट्वारी र पुस अन्तिम दिन र माघ १ गते गरी दुई दिन माघी पर्वमा सार्वजनिक विदाको माग गरिएको हो ।
ज्ञापन पत्रमा उल्लेख छ, ‘जनै पूर्णिमा, गौरामा सरकारले विदा नदेओस् भन्ने हाम्रो माग र चाहना होइन । हाम्रो माग र चाहना भनेको सरकारले हाम्रो चाडपर्वलाई पनि उत्तिकै सम्मान गरोस् । त्यसमा विदा देओस् भन्ने हो ।’
त्यस्तै, प्रदेश सरकारले जनै पूर्णिमा र गौरामा प्रदेश सरकारले विज्ञप्ती निकाल्दै सार्वजनिक विदासहित शुभकामना सन्देश दिएपनि त्यहि दिन आफूहरुले अष्टिम्की पर्व मनाएपनि प्रदेश सरकारले विभेद गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए । थाकस सचिव माधव चौधरीले आउँदो दिनमा गौरा र अष्टिम्की पर्वमा झै गरिएको विभेद नदोहोर्याउन मन्त्री शाहलाई आग्रह गरे ।
ज्ञापन पत्र बुझाउन पुगेका टोलीलाई मन्त्री शाहले सार्वजनिक विदाप्रति आफु सकारात्मक रहेको बताए । मन्त्री परिषद बैठकमा विदावारे आफै प्रस्ताव लग्ने बताउँदै उनले विदावारे ढ्रुक्क रहन समेत प्रतिवद्धता जाहेर गरे ।
यसैबीच प्रदेश न–५ मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाइएको छ । थारु अगुवाहरुले थाकस दाङको अगुवाईमा आइतबार जिल्ला प्रशासन कार्यालय दाङमार्फत ज्ञापन पत्र बुझाएका हुन् ।
धार्मिक, ऐतिहासिक महत्व बोकेको अट्वारी पर्व थारु समुदायको मौलिक पर्व हो ।

