०८ साउन २०८३, शुक्रबार

नारायणगढ-मुग्लिन सडक मध्यरातदेखि अवरुद्ध : तीजका चेली अलपत्र, साँझसम्म खुल्ने सम्भावना

नारायणगढ-मुग्लिन सडक मध्यरातदेखि अवरुद्ध : तीजका चेली अलपत्र, साँझसम्म खुल्ने सम्भावना
फाइल तस्वीर

चितवन–मध्यरातमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको चार किलोमा अहिलेसम्मकै ठूलो पहिरो खसेको हो । चार किलोमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ ।

सो स्थानमा मंगलबार बिहान १ः३० बजे पहिरो खसेको थियो । सोही सडकको गाईघाट, जलबिरे, कालिखोला, १७ किलोलगायतका ठाउँमा पनि पहिरो खसेका छन् । 

ती ठाउँका पहिरो सानो भएकाले छिट्टै सफा गर्न सकिने आयोजनाले जनाएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको जनाइएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार रुखसहित पहाडको ढिस्को खसेपछि सडक अबरुद्ध भएको हो । 

पहिरो पन्छाउन तीन लोडर र दुई एक्साभेटरले प्रयोग गरिएको छ । १०० मिटर सडक पहिरोले ढाकेको छ । खनालका अनुसार चार किलोमा १०० मिटर माथिबाट ठूला ढुङ्गासहितको पहिरो झरेको हो । 

पहिरो पन्छाउने काम भइरहेको मुग्लीन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ५ बजेसम्म सडक संचालनमा आउन सक्ने सम्भावना छ । सडक बन्द भएसँगै सयौं यात्रु प्रभावित भएका छन् । हरितालिका तीजको आज दरखाने दिन भएकाले माइत जाने, आउने सयौँ महिला सडकमै बिचल्लीमा परेका छन् ।

नवलपरासीको सुनवलबाट तीज मनाउन दिदिको घर काठमाडौं जाँदै गरेकी सम्झना पौडेलले आज दिनभर सडक खुल्ने सम्भावना नभएपछि आफू नवलपरासी नै फर्कनु परेको बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्