
महेन्द्रनगर। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आरोपमा २४ दिनपछि प्रहरीले मुख्य अभियुक्तका रूपमा भीमदत्त नगरपालिका–१९ का दिलिप विष्टलाई गत ४ भदौमा सार्वजनिक ग¥यो ।
तर, निर्मलाको शरीरमा भेटिएको प्रमाणको डीएनए रिपोर्ट दिलिपसँग नमिलेपछि उनी मंगलबार साधारण तारेखमा रिहा भए । दिलिप रिहा भएसँगै निर्मलाको हत्यारा को हो भन्ने प्रश्न जन्मिएको छ । प्रहरीकै अनुसन्धान झुटो साबित भएपछि प्रहरीमाथि थप चुनौती बढेको छ ।
दिलिप र निर्मलाको डीएनए प्रोफाइल नमिलेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिलको कार्यालयको परामर्शपछि उनलाई मंगलबार रिहा गरेको जनाएको छ । दिलिपसँगै बम दिदीबहिनी पनि रिहा भएका छन् । दिदी अनिता बमलाई ३० हजार रुपैयाँ धरौटी एवं दिलिप र बहिनी रोसनीलाई साधारण तारेखमा प्रहरीले मंगलबार रिहा गरेको हो ।
छोरी निर्मलाको हत्या भएको ४६ दिन भइसक्दा पनि अपराधी पत्ता नलागेको र प्रहरीले नै अपराधीलाई जोगाउन खोजेको भन्दै न्यायका लागि निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी मंगलबार काठमाडौं पुगेका छन् ।
निर्मला हत्या प्रकरणलाई सुरुबाटै सूक्ष्म ढंगले हेर्ने हो भने प्रहरी नै दोषी देखिन्छ । राष्ट्रिय मानवअधिकार परिषद्को टोली, नेपाल सरकारद्वारा गठित छानबिन समितिका संयोजक सहसचिव एवं कारागार व्यवस्थापन विभागका महानिर्देशक हरीप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिको टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी अंगुर जीसी नेतृत्वको टोली, कञ्चनपुरका राजनीति दल, नागरिक समाज, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकारलगायतले आजसम्म केही तथ्य पत्ता लगाउन नसकेपछि अनुसन्धान कता जाने हो ? कौतुहलको विषय बनेको छ । अाजकाे राजधानी दैनिकमा विस्तृतमा खबर छापिएकाे छ ।