
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर बसपार्कमा आउने यात्रुलाई जर्बजस्ती तान्ने ७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक (डीएसपी) श्यामसिंह चौधरीले यात्रुलाई अमानवीय व्यवहार गरेको आरोपमा ७ जनालाई नियन्त्रणमा लिइएको बताए ।
‘मन लागेको ठाउँमा जान र मन लागेको गाडीमा यात्रा गर्न पाउने अधिकारलाई बेवास्ता गर्दै यात्रुलाई तान्ने काम भइरहेको थियो,’ उनले भने, ‘बसपार्कमा सर्वसाधारण यात्रुलाई अमानवीय तरिकाले तानातान गरेको हामीले ७ जनालाई समातेका छौं । उनीहरूलाई कानून बमोजिम कारबाही गरेका छौं ।’
प्रहरीले वीरेन्द्रनगरका चक्रबहादुर शाही, कालिकोट खाडाचक्रका अर्जुन मल्ल, सुर्खेत गुर्भाकोट नगरपालिका–६ का महेश सोमारे मगर, जुम्ला डुम्री नगरपालिका–४ का रमेश शाही, आछाम तुर्माखाद गाउँपालिका–७ का नमराज न्यौपानेलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको उनको भनाई छ ।
पाँचै जनालाई प्रहरीले हिजो मंगलवार पक्राउ गरेको थियो भने बुधवार थप २ जनालाई पक्राउ गरेको जनाइएको छ । बुधवार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ का नकेन्द्र खत्री र सोही स्थानका सन्दिप परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।