
नवलपरासी–पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित महाकवि देवकोटा माविमा विद्यार्थीमाथि भएको दुर्व्यवारप्रति जिल्लास्थित विद्यार्थी संगठनले आपत्ति जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारीले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला संगठन नवलपरासीले कडा कारबाहीको माग गरेको छ ।
संगठनले बिहीबार जारी गरेको विज्ञप्तिमा दोषीलाई छिटोभन्दा छिटो कडा कारबाही गरी पीडितलाई उचित न्याय प्रदान गर्न संबन्धित निकाय समक्ष आग्रह गरिएको छ ।
यसैगरी, शिक्षकद्वयलाई विद्यालयबाट हटाउनुपर्ने माग गर्दै विद्यार्थीले पनि आन्दोलन गर्दै आएका छन् । उनीहरूलाई नहटाएसम्म थप सशक्त आन्दोलन गर्ने पीडित विद्यार्थी अर्जुन गुप्ताले जानकारी दिए ।
केही दिनअघि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रदीप कोंहार, धीरज पाण्डे र अर्जुन गुप्तालाई अपशब्द प्रयोगका साथै हातपात गरेको आरोप शिक्षकद्वयमाथि लागेको छ । विद्यार्थीलाई सम्झाउने क्रममा दुःखद् घटना भएको विद्यालयका प्रधानाध्यापक पाण्डेले स्वीकारेका छन् ।
