
काठमाडौं — अमेरिकाको क्यालिफोर्नियामा एक बन्दूकधारीले आफ्नी पत्नी लगायत पाँच व्यक्तिलाई गोली हानेर मारेपछि आत्महत्या गरेको अधिकारीहरूले बताएका छन् ।
बुधवार लस एन्जेलसबाट उत्तरतर्फ रहेको बेकर्सफील्डस्थित एक घर र कार्यालयमा भएको उक्त गोलीकाण्ड के कारणले भएको हो भन्ने प्रस्ट छैन ।
‘यो जथाभावी गरिएको गोलीप्रहार हैन,’ कर्न काउन्टी शेरिफ डनी योङब्लडले केरो–टीभीलाई बताए । ६ मानिस छोटो अवधिमा मारिएको उनको भनाइ छ ।
बन्दूकधारी शुरूमा आफ्नी पत्नीसँग ट्रककाृ डिपो भएको ठाउँमा साँझ साढे पाँच बजे आएका थिए र अर्को मान्छेसँग भिडेका थिए ।
‘आरोपित पतिले ट्रक कम्पनीका मानिसलाई गोली हाने अनि त्यसपछि पत्नीलाई गोली प्रहार गरे,’ योङब्लडले भने, ‘त्यसपछि उनले त्यहाँ आइपुगेका अर्का मानिसलाई लखेटेर गोली हाने ।’
त्यसपछि बन्दूकधारी एउटा घरमा गए र दुईजनालाई गोली हाने, शेरिफले बताए ।
त्यसपछि उनले बच्चा राखेर गाडी चलाइरहेकी एक महिलाको कार अपहरण गरे । महिला र बच्चा भागेपछि ती मानिस राजमार्गतर्फ गए जहाँ शेरिफका सहायकले उनलाई देखे, योङब्लडले भने ।
बन्दूकधारीले सहायकलाई देखेपछि पार्किङ लटमा गाडी रोके । सहायकले उनलाई बन्दूक देखाएर सामना गर्दा उनले आफैंलाई छातीमा गोली हाने, शेरिफले बताए ।
ती बन्दूकधारीको पहिचान सार्वजनिक गरिएको छैन ।
करीब ३० जनाले गोलीप्रहार देखेको र तिनीहरूलाई सहायकहरूले सोधपुछ गरिरहेको योङब्लडले बताए ।
द गार्डियनबाट