२४ जेठ २०८३, आइतबार

रुकुम पश्चिमका बाढीपीडितलाई कर्णाली सरकारबाट राहत वितरण

रुकुम पश्चिमका बाढीपीडितलाई कर्णाली सरकारबाट राहत वितरण

रुकुम– कर्णाली प्रदेश सरकारले रुकुम पश्चिम आठबीसकोट नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण गरेकोे छ । 

आज नगरपालिकामा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले उनीहरुलाई राहत वितरण गरेकी हुन् । 

विगत केहि दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले नगरपालिकाका विभिन्न ठाउँमा करिब रु चार करोड मूल्य बराबरको धनमाल क्षति भएको थियो । 

बाढीपहिरोबाट पूर्ण रुपमा विस्थापित ३१ घर परिवारलाई राहत वितरण गरिएको छ । कर्णाली प्रदेश सरकारले प्रति घर परिवार २० हजारका दरले रु ६ लाख २० हजार राहत वितरण गरेको आठबीसकोट नगरपालिकाले जनाएको छ । 

सो अवसरमा मन्त्री विमला केसीले एकीकृत नमुना बस्ती विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माणका काम प्रभावकारी ढङगले नगर्दा र मापदण्ड नपुर्याउँदा नै विपत्ति आइलागेको बताइन् । 

विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन तथा एकीकृत बस्ती विकासका लागि आफूले सक्दो पहल गर्ने बताउँदै उनले बाढीपहिरोको जोखिममा रहेका बस्तीलाई उपयुक्त ठाउँको छनोट गरी स्थानान्तरण गर्नुपर्नेमा जोड दिइन् । 

यसैबीच मन्त्री केसीले बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित भएका आठबीसकोट नगरपालिका– ११ धुर्सेनीको आज स्थलगत अध्ययन, अनुगमन र निरीक्षण पनि गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्