
धुलिखेल - राप्रपा अध्यक्ष कमल थापाले दुई तिहाइको सरकार भएको बेला न्यायका लागि जनता सडकमा चिच्याउनु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
आज पार्टीको धुलिखेलमा भएको काभ्रे जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा अपराधीलाई लुकाउने र ढाकछोप गर्ने काममा राज्य संयन्त्र प्रयोग हुनु निर्लज्जताको पराकाष्ठा भएको बताउदै उनले सरकार सुरक्षाको प्रत्याभूति दिन असफल भएको उल्लेख गरेका छन् । अध्यक्ष थापाले सरकार सञ्चालनमा देखिएको अपरिपक्वताले राज्य संयन्त्रको प्रभावकारीतामा ह्रास आएको, प्रशासन, संवैधानिक अङ्ग, न्यायपालिकामा पार्टीका समर्थक भर्ती गर्ने काम भइरहेकोमा आपत्ति प्रकट गरेका छन् ।
अध्यक्ष कमल थापाले दुई तिहाइको सरकार हुँदा पनि देश असफलता तर्फ उन्मुख हुनु दु:खको कुरा भन्दै हालको असफलता व्यक्तिको नभइ गलत नीति, गलत मार्गचित्र र गलत व्यवस्थाको असफलता भन्दै उहाँले गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भइसकेको दाबी गरेका छन् ।
आफूसंगको भेटमा क्रान्तिकारी भन्ने नेताहरूले नै धर्म निरपेक्षता कायम गर्न गलत पो गरिएछ, संघीयता पनि हतारमा लागू गरिएछ भन्ने गरेको खुलासा पनि अध्यक्ष थापाले गरेका छन् । अध्यक्ष थापाले "देश कठिन मोडमा पुगेको छ, यहि बाटो र विचारबाट अझै कठिन ठाउँमा पुगिन्छ" विगतका कमीकमजोरी सच्याएर अघि बढ्न र साहसताका साथ पुनर्विचार गर्न सबै राजनीतिक दल र नेताहरूलाई आग्रह समेत गरेका छन् ।
देशको बर्बादीको कारक नेपाली कांग्रेस पनि रहेको बताउदै अध्यक्ष थापाले कांग्रेसको सैद्धान्तिक विचलन, चरम गुटबन्दी र विदेशी प्रभावलाई स्विकार गर्ने नीतिले देश आजको अवस्थामा आइपुग्न बाध्य भएको धारणा व्यक्त गर्नुभयो ।
अगुवा कार्यकर्ता भेलामा नेताहरू प्रदेश-३ का अध्यक्ष विक्रम बहादुर थापा, आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ, उदय सिंह मुस्याजु, महिला नेतृ यवती कार्की लगायतको सहभागीता रहेको थियो ।