
प्रेस सेन्टर नेपाल सिरहाद्वारा आज लहानमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भने — “यसबारे तीन दलबीच गम्भीर रुपमा छलफल भइरहेको हुँदा सहमतिमा छिट्टै नै निर्वाचनको मिति घोषणा हुन्छ ।”
प्रधानमन्त्री दाहालले सरकारको सम्पूर्ण ध्यान संविधान कार्यान्वयनप्रति केन्द्रित भएको बताउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन सरकार क्रियाशील रहेको बताए ।
“सकेसम्म मधेस, पहाड, हिमाल सबैको स्वीकार्यता बढाएर, मधेसी दललाई पनि विश्वासमा लिएर राष्ट्रिय एकतालाई बलियो बनाइ संविधान कार्यान्वयन गर्ने र निर्वाचनको वातारण बनाउनेतिर नै सरकारको जोडबल छ,” उनले भने— “संसद्मा दत्र्ता गराएको संविधान संशोधन प्रस्ताव सरकारले कुनै पनि हालतमा फिर्ता नलिने तर त्यसमा सकारात्मक परिमार्जन भन्ने गर्न सकिन्छ ।”
प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावको विरोध गर्नु र आफूमाथि राष्ट्रघाती आरोप लगाउनु गलत भएको टिप्पणी गर्दै ढिलै भए पनि प्रतिपक्षले पनि संशोधन प्रस्तावको पक्षमा आउने विश्वास व्यक्त गरे ।
मधेसबाट चुनाव जितेकाले मधेसप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको प्रशङ्ग कोट्याउँदै दाहालले मधेसका जिल्लामा खानेपानी, बिजुली, सडकलगायतका पूर्वाधार निर्माणतर्फ सरकारले प्याकेजसहित काम अघि बढाएको बताए ।
पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्मा र कानुनमन्त्री अजयशङ्कर नायकको पनि उपस्थिति थियो ।
यसअघि प्रधानमन्त्री दाहाल आज बिहान सिरहाको मिर्चैयामा आयोजित सिरहा क्षेत्र नम्बर– ५ संसदीय कोष विकास समितिको बैठकमा पनि सहभागी भए ।