२६ असार २०८३, शुक्रबार

औपचारिक भ्रमणका लागि बुधवार चीन जाँदै उपराष्ट्रपति

असोज २, २०७५
औपचारिक भ्रमणका लागि बुधवार चीन जाँदै उपराष्ट्रपति

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्दै हुनुहुन्छ । 

छदिने औपचारिक भ्रमणका लागि उहाँ बिहान सिए ४३८ नंको एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्नुहुने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । 

सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही असोज ४ गतेदेखि शुरु हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान लाग्नुभएको हो । उहाँले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

उपराष्ट्रपति पुनले असोज ४ गते चीन भ्रमणका क्रममा उहाँले ‘एक क्षेत्र एक मार्ग’(बिआरआइ)सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । चीनमा रहँदा उहाँसँग चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने तय भएको छ । 

उहाँले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नुहुनेछ । उपराष्ट्रपति चीनको भ्रमण सकेर असोज ८ गते काठमाडौँ आइपुग्नु हुनेछ । 

भ्रमणबारे राष्ट्रपतिलाई जानकारी 

उपराष्ट्रपति पुनले आफ्नो चीन भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउनुभएको छ । राष्ट्रपति भण्डारीलाई आज अपराह्न भेटेर उपराष्ट्रपतिले आफ्नो चीनको औपचारिक भ्रमणबारे जानकारी गराउनुभएको हाे ।

salt training

कमेन्ट गर्नुहोस्