
काठमाडौं – राजधानीमै सोमबार एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । स्युचाटारमा डेरा गरी बस्ने २१ वर्षीया युवती साँझसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले राति ९ बजेतिर उनलाई स्युचाटारबाट भीमढुंगा जाने बाटोमा पर्ने एक खाजा पसलबाट उद्धार गरेको थियो ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीका अनुसार मामा नाता पर्ने अर्जुनले दिउँसो साढे ४ बजेतिर युवतीलाई खाजा खान भन्दै होटलमा लगेका थिए ।
युवतीले आफूलाई नुवाकोट स्थायी ठेगाना भएका अर्जुन लामा, स्युचाटारकै एक होटलका सञ्चालक रामकृष्ण नगरकोटी र उनका साथी सूर्य लामाले बलात्कार गरेको बयान दिएकी छन् ।
बलात्कारको आरोप लागेका तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कृत युवतीकी दिदीले दिएको जाहेरी, घटनास्थलबाट प्राप्त प्रमाण र पीडित युवतीले दिएको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । घटनामा संलग्न तीनमध्ये दुईले जबर्जस्ती करणीको अभियोग स्विकारिसकेको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छपिएको छ ।