१९ असार २०८३, शुक्रबार

अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने व्यवसायीको चेतावनी, धमाधम छुट्न थाले ३३ किलो सुन तस्करीका आरोपी

अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने व्यवसायीको चेतावनी, धमाधम छुट्न थाले ३३ किलो सुन तस्करीका आरोपी

काठमाडौं– नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार संविधान दिवस मनाइँदैछ । 
यसै दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टँुडिखेलमा विशेष समारोह आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । 

समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी। प्रदर्शन, काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । 

त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा रोचक कार्यक्रम प्रस्तुत गरिनाका साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन गरिने छ । त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गरिने मन्त्रालयले जनाएको छ । 

काठमाडौँ उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहमा सरसफाइ, प्रभातफेरी, खेलकुद, प्रवचन गोष्ठी, साहित्यिक गोष्ठी, साँस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी गरिनाका साथै असोज २, ३ र ४ गते दीपावली गरिने छ । सरकारले संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा ३३ सदस्यीय मूल समारोह समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र कामपाको संयोजकत्वमा मञ्च सजावट व्यवस्था उपसमिति गठन गरेको थियो ।  संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको थियो । 
यसैबीच संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् । 

मूल्यबृद्धि २४ घण्टाभित्र फिर्ता लिन माग 
यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि २४ घण्टाभित्र फिर्ता लिन सरकारललाई अल्टिमेटम दिएका छन् । 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले मूल्यवृद्धि फिर्ता नभए शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्न नसकिने चेतावनी दिएको छ । 
महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मङ्गलबार साँझ विज्ञप्ति जारी गरी चाडवाड शुरु हुनु अघि पेट्रोलियम पदार्थको भाउ बढ्नु  राम्रो नभएको भन्दै फिर्ता लिन माग गरेका छन् । 

“चाडपर्वमा यात्रुलाई सहजरूपमा आवतजावत गर्न असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरेका छौँ, ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ अग्रिमरूपमा खुला गर्न सक्दैनौँ”, विज्ञप्तिमा भनिएको छ । 
भदौ ३१ गते यातायात व्यवस्था विभागमा बसेको विभाग र महासङ्घबीचको बैठकले असोज ५ गते अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको थियो । 
 

मदिरा सेवनबाट मलेसियामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो


मलेसियामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । मृत्यु हुनेमा  वैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका चार नेपाली समेत रहेको क्यालालम्पुरस्थित नेपाली दूताबासले पुष्टि गरेको छ । 

मलेशियाको सेलेङगर राज्यमा रोजगारीका क्रममा रहेका विशाल बुढाथोकी, सञ्जय उराव र नाम खुल्न नसकेका अन्य दुई नेपालीको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको मलेशियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए । 

विषाक्त मदिरा सेवनकै कारण गम्भीर बिरामी परेका ११ नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । 
 उनीहरुको स्थानीय सुनगाई अस्पताल, काजाङ अस्पताल र ब्यान्टिङ अस्पतलमा उपचार भइरहेको बताइएको छ । 
मृत्यु हुने अन्य १५ जनामा बंगलादेशी, भारतीय र म्यान्मारका नागरिक रहेको मलेसियन अनलाइन द स्टारले जनाएको छ । 

लखेट्दै बलात्कार
चार किशोरकिशोरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ उमेर समूहका थिए । हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोको कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राती करीब ८ बजे अन्नपूर्ण गाउँपालिका ६ घारको धरमपानी खोला नजिकको मुना बाल विकास भवन नजिकै ओराल्यो । ठाउँ  एकान्त थियो । रात परिसकेकाले उनीहरु अलमलमा परे । बास खोज्दै गर्दा गाँजा र चुरोट तान्दै गरेका तीन युवा प्रकाश छिनाल, अर्जुन परियार र नविन परियारको नजर १५ वर्षीया किशोरीमाथि पर्यो । 
उनीहरुले अपरिचित बालिकाहरुलाई जिस्क्याउँदै हातपात गर्न खोजे । आक्रामण हुन थालेपछि बालबालिका मोटरबाटो हुँदै आएकै बाटो भागे । युवाहरुले भवानीथानसम्म लखेटे । सडकमा बत्ती थिएन । भाग्दै गरेकी १५ वर्षीया किशोरीलाई उनीहरुले मुख थुन्दै एकान्ततिर लगेर बलात्कार गरेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

धमाधम छुट्दै ३३ किलो सुन तस्करीका आरोपी
सुन तस्करी तथा उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको मुद्दामा कारागारमा रहेका निलम्बित प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल साधारण तारेखमा पनि छुटेका छन् । 

यसअघि निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रजित केसीलाई समेत उच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको थियो । सुनकाण्डमा पछिल्लो समय उच्च अदालतमा चढेको पेसीको सुनवाइ हुँदै प्रहरी अधिकारीहरू एकपछि अर्को गर्दै साधारण तारेखमा छुट्दै आएका छन् ।

 

शून्य लागतमा कामदार आपूर्तिको व्यवस्था मिलाउन आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारी संयन्त्र तयार गरी शून्य लागतमा कामदारको छनोट र आपूर्तिको व्यवस्था मिलाउन कतारसँग आग्रह गरेका छन् । 
मन्त्रालयमा भएको मन्त्री विष्ट र नेपालका लागि कतारका राजदूत महमद युशुफबीचको भेटमा उनले कतारमा कार्यतर नेपाली कामदारलाई २४सै घन्टा बीमाको सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए । उनले नेपाली कामदारको विषयमा छलफल गर्न नेपालको तर्फबाट एउटा प्राविधिक टोली कतार पठाउने र त्यसको लागि कतार सरकारको आवश्यक सहयोग रहने अपेक्षा गरेको  मन्त्रालयले जनाएको छ ।

 विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक हकसम्बन्धी विभिन्न १६ विधेयक प्रमाणीकरण गरेकी छिन् ।

सङ्घीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक राष्ट्रपति भण्डारीले मंगलबार प्रमाणीकरण गरेकी हुन् । 

लगानी स्वीकृत

सरकारले जापान क्लब इन्टरनेशनलाई मुलुकका तीन स्थानमा पाँच तारे होटल स्थापनाका लागि लगानी स्वीकृत गरेको छ । 

लगानी बोर्डको बैठकले जापानी लगानीकर्तालाई काठमाडौँको थानकोट, भक्तपुर र पोखरामा होटल स्थापनाका लागि लगानी स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । 

कूल रु १३ अर्ब ९० करोड लागतमा ती होटल स्थापना गर्ने, पर्यटन प्रवद्र्धनलाई सहयोग पु¥याउने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डलाई निर्देशनसमेत दिएको छ । यस्तै आगामी मार्चमा लगानी सम्मेलन गर्ने पनि बोर्डले प्रस्ताव गरेको छ ।

पाँच लाख लुटियो
 महोत्तरीको गौशालास्थित मरहानदीबाट एक व्यक्ति लुटिएका छन् । 

मोटरसाइकल चढी गौशालातर्फ आइरहेका समयमा मनरासिस्वा नगरपालिकाका विनोद चौधरीको साथबाट मंगलबार दिउँसो अज्ञात समूहले रु ५ लाख लुटेको हो । 

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार चौधरीलाई नदीमा एक्लो भएको मौका छोपी मोटरसाइकलमा आएका तीन जनाको समूहले पेस्तोल देखाएर उनीसँग रहेको रु ५ लाख लुटेर फरार भएको जनाएको छ । 

उपराष्ट्रपति पनि चीनतिर 

उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्दै छन् । 

छदिने औपचारिक भ्रमणका लागि उनी बिहान सिए ४३८ नंको एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्नुहुने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । 


घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ सम्मान
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ । 

नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पु¥याई उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी निर्देशक घिसिङलाई इमेज च्यानलले सो सम्मान प्रदान गर्न लागेको हो । 
यसअघि सरकारले गणतन्त्र दिवस–२०७४ को अवसरमा घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो । दुई वर्षअघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले भोगेको विद्युत् कटौती समस्या समाधानमा योगदान पु¥याएका थिए । 

पारसको कप्तानी
यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । 
प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक खेलाडी गरी १८ सदस्यीय टोली घोषणा गरिएको नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । 
नेपालले पहिलो खेल असोज १७ गते म्यानमारसँग खेल्नेछ । दोस्रो खेल २० गते मलेशियासँग, २१ गते थाइल्याण्डसँग, २४ गते चीनसँग र २६ गते सिङ्गापुरसँग खेल्नेछ । 

चीनद्वारा ६० अर्ब डलरको अमेरिकी सामानमा करवृद्धि
अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेकोे बदलास्वरूप चीनल पनि मङ्गलबार ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा आगामी हप्तादेखि कर बढाउने घोषणा गरेको छ । 

करिब पाँचदेखि १० प्रतिशत अमेरिकी सामान अर्थात् करिब पाँच हजार २०० अमेरिकी सामानमा सोमबारदेखि नै लागु हुनेगरी कर बढाएको थियो । अमेरिकाले चिनियाँ सामानमा कर बढाएकै दिन उक्त घोषणा गरिएको चिनियाँ वित्त मन्त्रालयले बताएको छ । 

यदि अमेरिकाले यसभन्दा पनि बढी कर बढाउँदै गएमा चीनले यथोचित प्रतिक्रिया दिनेछ, मन्त्रालयद्वारा सोमबार जारी वक्तव्यमा भनिएको छ । 

अमेरिकाले चीनबाट आउने सामानमा नयाँ दुई अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने भनी सञ्चारमाध्यममा आएका निर्णयहरू कार्यान्वयनमा ल्याएमा बेइजिङले पनि यसको यथोचित जवाफ दिने चीनको विदेश मन्त्रालयले सोमबार जनाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्