
जनकपुरधाम– २ नम्बर प्रदेशको राजधानी जनकपुरधाममा आधा घण्टा ‘ब्ल्याक आउट’ गरिएको छ । संविधान दिवसको बिरोधमा जनकपुर बुधबार साँझ ७ बजे देखि साढे ७ बजे सम्म आधा घण्टा अँध्यारो पारिएको थियो ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबार साँझ सात बजेदेखि साढे सात बजेसम्म संविधान दिवसको बिरोधमा ‘ब्ल्याक आउट’ गर्न जनतालाई आह्वान गरेको थियो । तर, मुख्यमन्त्री लाल बाबु राउत, फोरमबाट प्रतिनिधित्व गर्ने प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले भने मन्त्रालयको निवासमा ब्ल्याक आउट गरेका थिएनन् । तर, फोरमकै अर्का मन्त्री शैलेन्द्र साहको निवासमा भने बत्ती निभाइएको थियो ।
मन्त्रालयमा राजपाका मन्त्रीहरू जितेन्द्र सोनार, नबल किशोर साह, रामनरेश राय र को निवासमा भने बत्ति निभाइएको थियो । राज्यमन्त्रीहरूको निबास भने मन्त्रालय परिशरमा छैन ।
आफ्नो निबासमा बत्ति निभाएर ब्ल्याक आउट गरेका राजपाका सामाजिक बिकास मन्त्री नबल किशोर साहले भने, ‘मुख्यमन्त्रीदेखि फोरमका अन्य मन्त्रीहरूले बत्ति बाल्नु भयो । अब उहाँहरूको इच्छा हो, जबरजस्ती त गर्न पाइन्न ।’
त्यस्तै राजपाबाटै प्रतिनिधित्व गर्ने मन्त्री रामनरेश यादबले भने, ‘अब जनताले नै सबै कुराको मुल्यांकन गर्नेछन् । किन बिगतमा उहाँहरूले पनि ब्ल्याक आउट गर्नु भएको थियो र आज किन आफ्नो निवासमा बत्ति बाल्नु भयो त्यो त जनताले मुल्याङ्कन गर्नेछन् ।’
देशका कतिपय स्थानमा संबिधान जारी गरिएको खुशियालीमा दीपबाली मनाइरहेको अबस्थामा २ नम्बर प्रदेशका राजधानी सहित प्रदेशका आठ वटै जिल्लाका सदरमुकामहरूमा ‘ब्ल्याक आउट’ गरेर बिरोध गरिएको छ ।
सबै मानिसहरूले आआफ्नो घरमा रहेको बत्ति निभाउनुका साथै सडकमा गुड्ने सबारी साधनको बलेको बत्ति समेत निभाउन लगाएका थिए ।
राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले गरेको पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रदेशका कतिपय जिल्लामा भने १५ मिनेट मात्र ब्ल्याक आउट गरिएको बताइएको छ ।
यद्यपि विगतका वर्षमा जस्तो संविधान दिवसको दिन स्वतःस्फुर्त रुपमा नागरिकले ‘ब्ल्याक आउट’ गरेनन् । विगतका वर्षमा साँझ लोडसेडिङ हुने गरेपनि यस वर्ष विद्युत प्राधिकरणले साँझ बिजुली काटेको थिएन । केही ठाउँमा ब्ल्याक आउट गरिएपनि अधिकांश जनताले भने बत्ति बालेको नै देखियो ।
संविधानको बिरोध स्वरूप २ नम्बर प्रदेश सरकारमा सहभागी भएका राजपाका मन्त्री र राज्य मन्त्रीहरूले बुधबार प्रदेशका बिभिन्न जिल्लामा आयोजना गरिएको बिरोध जुलुसको नेतृत्व गरेका थिए ।
प्रदेश सरकारका मुख्यमन्त्री लाल बाबु राउतदेखि संघीय समाजबादी फोरम नेपालका अन्य मन्त्री तथा राज्यमन्त्रीहरूले संविधान दिवसको अबसरमा न त कुनै कार्यक्रममा सहभागीता जनाए न त संविधानको बिरोध गरिएको कार्यक्रममा उपस्थित भए ।