
काठमाडौं–निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीको सम्पत्ति बारे प्रश्न उठेको भन्दै छानबिन गर्न संसदमा आवाज उठेको छ ।
प्रतिनिधि सभाको बिहीवार बसेको बैठकको विशेष समयमा सूर्य चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका सांसद हृदयेश त्रिपाठीले निवर्तमान प्रधानसेनापतिको सम्पत्तिको छानबिन गर्न माग गरेका हुन् ।
‘भर्खरै निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीको बिषयमा पत्रपत्रिकाले सुन्दर फोटोसहित कुरुप कर्तुतका बिषयमा लेखिरहेका छन् । यसको एकमात्र कारण सेनालाई व्यबसायमा लगाउनु हो । यसवारे छानविन गर्न जरुरी भइसक्यो’ त्रिपाठीले भने ।
सेनालाई यसरी व्यबसायमा लगाउदा सेनाको छवी मर्यादामा ह्रास आउने र त्यसको मार देशले व्याहोर्नु पर्ने अबस्था आउने उनले बताए । ‘नेपाली सेनालाई विगत केही समयदेखि क्रमश व्यासायीक बनाउँदै हरेक व्यबसामा हात हाल्न लगाइएको छ, जब सेना व्यबसाय गर्छ, त्यसको पेशागत मर्यादामा आँच आउँछ र धेरै किसिमका अफ्ठायारा र अनुसाशन खल्बलिन थालेका छन्’ त्रिपाठीले भने ।
सांसद त्रिपाठीले नेपाल प्रहरीको मनोवल गिरेजस्तै सेनाको पनि मनोवल गिरेमा राज्य अराजकतामा फस्ने चेतावनी दिए । ‘चाहे सुन काण्ड र निर्मला पन्तको काण्डले प्रहरी डिमोरलाइज भएको छ, सेनाको पनि मनोवल गिर्न थाल्यो भने देश अराजकतामा फस्ने छ । राज्य मक्कि सकेको छ, केही स्तम्भ मात्र छन मक्किनबाट तिनलाई मक्काउने काम नगरौं ।’