
काठमाडौं –गृहमन्त्री रामबहादुर थापाले नेपालमा भन्दा धेरै बलात्कारका घटना अमेरिकामा हुने दाबी गरेका छन् ।
उनले अहिलेको सरकार आएपछि बलात्कार र हत्याका घटनामा कमी आएको दाबी समेत गरे ।
मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्षसँग समय लिएर बोल्दै गृहमन्त्री थापाले महिलालाई नाफाको वस्तु र कमोडिटीका रूपमा सामन्ती पूँजीवादी चिन्तन र प्रवृत्तिका कारण बलात्कारका घटना बढेको बताएका हुन् ।
‘तपाईंले हेर्नुभयो भने नारीहरूलाई बिक्रीको रूपमा लिनहरू छन् । सबैभन्दा बढी रेप कहाँ हुन्छ ? नेपालमा होइन, नेपालमा हेर्दा थोरै संख्यामा हुन्छ । सबैभन्दा बढी अमेरिकामा हुन्छ । सबैभन्दा बढी हत्याकाण्ड र गोलाबारी कहाँ हुन्छ ? अमेरिकामा । सबैभन्दा विकसित, सबैभन्दा शक्तिशाली र सबैभन्दा लोकतान्त्रिक भन्ने मुलुकमा हुन्छ,’ गृहमन्त्री थापाले भने ।
मन्त्री थापाले मदिरा सेवन र लागूऔषधका कारण बलात्कार र हत्यका घटना सीमा क्षेत्रमा धेरै भइरहेको बताए ।
‘लागूऔषध नियन्त्रणका लागि कठोर कानून बनाउन जरुरी छ,’ उनले भने, ‘मदिराको नियमन, नियन्त्रण र व्यवस्थापन गर्न जरुरी छ ।’