
काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण बुधवारको प्रतिनिधिसभा बैठकमा पनि बहसको विषय बन्यो ।
बुधवारको संसद बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणले सिंगो मानव जातिमाथि नै प्रश्न उठाएको भन्दै अपराधीहरु पत्ता नलाग्नु झनै लज्जाको विषय भएको बताए ।
नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख निलम्बित एसपी डिल्लीराज बिष्ट निर्मला हत्याकाण्डका प्रमुख अभियुक्त भएकाले हिरासतमा लिनुपर्ने बताइन् ।
तत्कालीन एसपी बिष्टले निर्मलाको हत्या प्रकरणका सबै प्रमाण नस्ट गरेकाले उनलाई हिरासतमा लिएर अनुसन्धान हुनुपर्ने सांसद चौधरीले माग गरिन् ।
यस्तै सत्तारुढ दल नेकपाका सांसद अग्नि सापकोटाले निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणले पुरुषको औचित्य माथि नै प्रश्न उठाएको बताए । निर्मलाको बलात्कारपछि हत्यामा संलग्नहरु अझैसम्म पनि सार्वजनिक नहुनु लज्जाको विषय भएको बताए ।
नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न सार्वजनिक गर्न नसकेको भन्दै सरकारको आलोचना गरिन् । उनले पछिल्लो समय महिलाविरुद्धका हिंसा र हत्याका घटना बढेका भन्दै सरकारले सुरक्षा व्यवस्था कायम गर्न नसकेको बताइन् ।
सांसद भुषालले देशमा सुरक्षा व्यवस्था कायम गर्न नसकको भन्दै गृहमन्त्री रामबहादुर थापाले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताइन् ।