
काठमाडौं– बुधवार प्रतिनिधि सभाको विशेष समयमा बोल्ने क्रममा नेकपाका सांसद अग्नी प्रसाद सापकोटाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यासँग जोडेर ‘नमिता सुनीता हत्याकाण्ड’को प्रसंग निकाले ।
‘३८ बर्ष अगाडि मेरै जिल्ला सिन्धुपाल्चोकका माधवराज भण्डारीका छोरी पोखरामा बलात्कृत भएका थिए, पोखरामा बलात्कार हुँदा देख्ने चूडामणि उपाध्याय बनपाले थिए । बनपालेले उनको आँखाले त्यो घटना देख्नु नै मृत्युको कारण बन्यो र उनलाइ मारियो’ सापकोटाले संसदमा भने, ‘३८ वर्षपछि आउँदा पनि ती कुरा दोहोरिए रहेका छन् । त्यसैले मैला यहाँ हृदयभित्र ज्वालामुखी विस्फोटन भएको कुरा र मानस सभ्यताको लज्जित हुने कुरालाई अलि गम्भीरता पूर्वक उठाउन पर्छ भनेर बोलेको छु ।’
पञ्चायत कालमा पोखरामा भएको ‘नमिता सुमिता हत्याकाण्ड’लाई रहस्यमय घटनाको रुपमा लिने गरिन्छ । २०३८ साल जेठ २४ मा कास्कीको पोखरामा सो घटना भएको थियो ।
सिन्धुपाल्चोक ठोकर्पा स्थायी घर भइ काठमाडौंको लाजिम्पाटमा बस्दै आएका पर्यटन मन्त्रालयका पूर्व कायममुकायम सचिव माधव भण्डारी दुई छोरी नमिता र सुनिताको हत्याको अहिलेसम्म रहस्य पत्ता लाग्न सकेको छैन् । उनीहरुको बलात्कारपछि हत्या भएको भन्दै तत्कालिन सरकार विरुद्ध चर्को आन्दोलन भएको थियो । तर शक्तिशाली भनिएका अपराधीहरु अहिलेसम्म पत्ता लाग्न सकेका छैनन् ।
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले नमिता सुनीता हत्या काण्डको बिषयमा पुस्तक प्रकाशित गरेका थिए । ‘दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड’ नामक पुस्तक चर्चामा आएको थियो ।