०२ साउन २०८३, शनिबार

राजधानीका वडाध्यक्ष : सडक बालबालिका सम्झाउँदै, घर पठाउँदै

असोज ११, २०७५
राजधानीका वडाध्यक्ष : सडक बालबालिका सम्झाउँदै, घर पठाउँदै

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मोतिप्रसाद कंडेल बुधबार विहान ६ बजे स्थानीय नेता चोकमा सडक बालबालिकालाई सम्झाउँदै गरेका भेटिए । अध्यक्ष कंडेल बालबालिकालाई सम्झाउँदै आफ्ना बुवाआमासँग बस्न र विद्यालयमा जान भनिरहेका थिए । 

बालमले भने आफू बजारमा मर्निङ्गवाक गर्न आएको बताउँदै वडा अध्यक्षसँग अहिले नै घर फर्किने विषयमा विवाद गर्दै थिए । यत्तिकैमा वीरेन्द्रनगरको वांगेशिमल घर भएकी ३२ वर्षीया महिला आइन र यो मेरो छोरा हो भनेर हात समातिन । ‘तीन चार दिनदेखि म यहाँका चोकचोकमा खोज्दै हिंडिरहेकी थिएँ ।’ उनले छोराको हात समाउँदै वडा अध्यक्ष कंडेलसँग भनिन्, ‘जति सम्झाउँदा पनि घरमा बस्नै मान्दैन ।’ 

उनले श्रीमान र आफू दिनभरी ज्याला मजदुरी गर्ने भएका कारण दुवै छोरा यसरी बजारमै खाने, सुत्ने गरेको दुखेसो वडा अध्यक्ष सँग गरिन् । ‘बारम्बार सम्झाउँदा बुझाउँदा पनि दुवै छोराहरू मान्दैनन् ।’ उनले भनिन्, ‘कसरी मैले यीनीहरुलाई घरैमा बसाल्न सक्छु होला?’ जवाफमा वडा अध्यक्षले बालबालिकालाई अन्य राम्रा काम गर्ने बालबालिकाको जस्तो बन्न प्रेरणा दिन सुझाए । 

‘हजुरको छिमेकमा राम्रा केटाकेटी होलान् ।’ उनले भने, ‘ती बालबालिकाको उदाहरण दिनुहोस् त्यसले केहि सुधार ल्याउँछ कि ?’ उनले बजार क्षेत्रमा सडक बालबालिका अनाथ भएर नआएको बताए । ‘बजार क्षेत्रमा अनाथ भएकै कारण वा घरमा कसैले बस्न नदिएकै कारण बालबालिका आएका रहेनछन् ।’ उनले भने, ‘बजारमा मागेर खान पाइने, काम गर्न नपर्ने र मन लागेको खान पाइने भएका कारण उनीहरु यहाँ आएका रहेछन् ।’ 

उनले बजारमा जो कोहीले  पनि बालबालिकालाई खानेकुरा र पैसा दिने र त्यसले उनीहरुको मनोविज्ञानमा काम नगरेरै खान पाइन्छ भने किन घरमा बस्ने भन्ने प्रभाव परेको आफूले पाएको बताए । ‘बालबालिकाको बारेमा हामीले धेरै सरोकारवाला निकायसँग छलफल पनि गरेका थियौं । उनीहरुलाई हामीले बाल सुधार केन्द्रमा पनि ५ महिना जति राखेका थियौं ।’ अध्यक्ष कंडेलले भने, ‘त्यहाँबाट निस्कदा वित्तीकै ती बालबालिकाहरु फेरि बजारमा नै बास बस्ने गरेका कारण यीनीहरुलाई सम्झाइ बुझाई गर्दै घर फर्काउने अभियानमा म लागेको हुँ ।’ 

अध्यक्ष कंडेलले अहिलेसम्म आफूले १५ जना बालबालिकालाई अभिभावकको जिम्मा लगाइसकेको बताए । विहान साढे ४ बजे उठने वडा अध्यक्ष मर्निङ्ग वाकसँगै वडामा कहाँ के भइरहेको छ निरन्तर नियालीरहेका हुन्छन । ‘म आफ्नो घर तथा आँगनलाई सफा राखौं भन्न करिब सबैको घरमा पुगिसकेको छु ।’ उनले भने, ‘त्यसैगरी सडक बालबालिकालाई उद्धार गर्नेदेखि अन्य सामाजिक कार्यमा पनि म सहभागि हुन्छु ।’

salt training

कमेन्ट गर्नुहोस्