
काठमाडौं–आजको ७ नम्बर प्रदेशको प्रदेशसभाको बैठकले प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’ राख्ने प्रस्ताव पारित गरेको छ ।
विसं २०३८ मा नेपालको पाँचौँ विकास क्षेत्रको रुपमा सेती र महाकाली गरी दुई अञ्चललाई समेटेर केन्द्र डोटीको दीपायल रहने गरी सुदूरपश्चिमाञ्चल विकास क्षेत्र बनाइएको थियो ।
वर्षौंदेखि साविक सुदूरपश्चिमाञ्चलको विकास क्षेत्र केन्द्रका रुपमा रहेको दीपायलमा रहेका क्षेत्रीय कार्यालय र अन्य कार्यालय स्थानान्तरण नगरी ती कार्यालयको सेवा यथावत राख्ने सुझाव समितिको छ ।
प्रदेशको एकता, संस्कृति, विकास र समृद्धिको पक्षलाई दृष्टिगत गरी प्रदेशको नामाङ्कन गरिएको सुझाव समितिका सदस्यको भनाइ छ । सेती र महाकाली अञ्चलका नौ जिल्ला रहेको यो सुदूरपश्चिम प्रदेशको क्षेत्रफल १९ हजार ५३९ वर्ग किलोमिटर छ । २५ लाख ५२ हजार ५१७ जनसङ्ख्या रहेको यो प्रदेशको उत्तरमा चीन, पश्चिम र दक्षिणमा भारत, पूर्वमा प्रदेश नं ५ र कर्णाली प्रदेश रहेको छ ।
तराई, पहाड र हिमालको संगमका रुपमा रहेको यो प्रदेशको विशिष्ट खालको भौगोलिक विशेषता छ । पश्चिमी सीमा क्षेत्रको महाकाली र पूर्वी सीमा क्षेत्रको कर्णालीसहित सेती, चमेलिया, ठूली गाड, बूढीगङ्गाजस्ता ठूला नदी यसै प्रदेशमा छन् ।
तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर अन्न भण्डारका जिल्ला हुन् भने पहाड र हिमालका दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम र डोटी जिल्ला जडीबुटीका लागि धनी मानिन्छन् ।
हालको अस्थायी राजधानी धनगढीबाट झण्डै १७ किलोमिटर उत्तरतर्फ चुरेपहाडको फेदीमा रहेको गोदावरी नगरपालिकाको वडा नं २ र ४ मा पर्ने तेघरीको जङ्गल क्षेत्रमा स्थायी राजधानी बनाउने प्रस्ताव आज प्रदेशसभाको बैठकले पारित गरेको छ ।
आज दुई तिहाइ बहुमतले पारित भएको प्रस्तावसँगै तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थानबाट उत्तरपश्चिम, धनगढी–डडेलधुरा राजमार्गदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्वगोदावरी बजारदेखि दक्षिणमा पर्ने चार किल्लाभित्र प्रदेश नं ७ को स्थायी राजधानी स्थापना गरिने निश्चित भएको छ ।
स्थायी राजधानी बनाइने स्थान तेघरीबाट झण्डै तीन किलोमिटर उत्तरतर्फ चुरे पहाडको खोचमा रहेको गोदावरी क्षेत्र ‘सुदूरपश्चिम प्रदेश’को मुख्य तीर्थस्थलका रुपमा रहेको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको मुख्य प्रवेशद्वारका रुपमा रहेको गोदावरी क्षेत्रलाई राष्ट्रिय तीर्थस्थल एवं प्रमुख धार्मिक पर्यटन गन्तव्यस्थल बनाउने पहल केही वर्षदेखि थालिएको छ । यस क्रममा गोदावरी क्षेत्रमा हरेक वर्ष माघे सङ्क्रान्तिको समयमा कुम्भ मेला पनि गरिँदै आएको छ । विभिन्न धार्मिक संरचना पनि त्यहाँ निर्माण भएका छन् ।
गोदावरी नदी छेउमा मन्दिर, धर्मशाला, बौद्ध गुम्बा रहेका छन् । यहाँ हरेक वर्ष माघे सङ्क्रान्तिका दिन ठूलो मेला पनि लाग्ने गरेको छ । धनगढी–डडेलधुरा राजमार्गको छेउमै रहेको यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रुपमा लिने गरिन्छ ।
बृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको हो भन्ने स्कन्द पुराणमा उल्लेख गरिएकाले पनि यसको धार्मिक महत्व ठूलो रहेको छ । यसका साथै गोदावरीमा भगवान् राम भीष्मपितामह र पाण्डवले पनि स्नान गरेको किंवदन्ती छ ।