
पर्सा– वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा गोली चलेको छ । शनिबार बिहान करिब दुई बजे मदनप्रसाद साहलाई लक्षित गरी गोली प्रहार भएको हो ।
भारतीय सीमा नजिकै साहमाथि अज्ञात व्यक्तिले चार राउण्ड गोली प्रहार गरेको बताइएको छ । घटनास्थल भारतीय सीमा क्षेत्रभन्दा ५० मिटर वर पर्दछ । गोली हान्ने व्यक्ति भारततर्फ नै भागेको अनुमान गरिएको छ ।
कोठामा एक्लै सुतिरहेका साहलाई अज्ञात व्यक्तिले ढोकाको चरबाट हात छिराएर गोली हानेको थियो । तर, साह सकुशल छन् । साह भारत पूर्वीचम्पारण निवासी हुन् ।
उनलाई गोली कसले हान्यो र किन हान्यो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।