
विराटनगर – मोरङ र धनकुटाको संगमस्थलमा पर्ने जेफालेडाँडा मोरङ जिल्लाको पर्यटकीय स्थल हो । पर्यटकीय क्षेत्र केरावारी गाउँपालिका–२ मा पर्छ ।
विराटनगरबाट ६७ किलोमिटर उत्तरमा १ हजार ९ सय ८० मिटरको उचाइमा मनोरम हावेचौरी गाउँ छ । ३५ घरघुरी भएको बस्तीदेखि करीब ५ सय मिटर उचाइमा जेफालेडाँडा छ । जेफालेडाँडाबाट १ नम्बर प्रदेशका १४ जिल्लाको दृश्यसहित सूर्योदय अनि सूर्यास्तको दृश्य देख्न सकिन्छ ।
जेफालेबाट कञ्चनजंघा, मकालु र सगरमाथा हिमालको दृश्य पनि देख्न सकिने स्थानीय नारायण राईले बताए । मगर जातिको बाहुल्य रहेको जेफालेडाँडामा पर्यटकलाई हुर्रा नचाएर थप मनोरञ्जन दिने परम्पराबाट आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन् ।
वर्षमा ७ देखि ८ हजारसम्म पर्यटक भित्र्याउन सफल मोरङको प्रसिद्ध पर्यटकीय क्षेत्र जेफालेको विकासमा सडक, सुरक्षा र सञ्चार समस्या अझै बाधक बनिरहेको छ । धनकुटा र मोरङ जिल्लाको सीमाना पर्ने जेफाले डाँडामा भ्यू टावर निर्माण गरेर फेदी हाबेचौरी गाउँमा होमस्टे सञ्चालन गरेपछि पर्यटक मनग्गे पुग्न थालेका छन् ।
विगत ३ वर्षयता बर्सेनि ७ देखि १० हजारसम्म पर्यटक जेफालेमा आएर बस्न थालेको होमस्टे सञ्चालक समिति सचिव भीम ठकुरीले बताए । उनका अनुसार सडकको स्तरोन्नति नहुनु, सुरक्षाका लागि प्रहरी चौकी स्थापना नगरिनु र भरपर्दो नेटवर्कका लागि मोबाइलको टावर नहुँदा अझै जेफालेको पर्यटनमा समस्या भइरहेको छ ।
जेफालेमा २०७० सालदेखि तत्कालीन जिल्ला विकास समिति मोरङको सहयोगमा होमस्टे सञ्चालनमा ल्याइएको हो । हाबेचौरमा हाल ७ घरमा होमस्टे सञ्चालित छन् । १ रातमा ५० जना पर्यटकलाई सुताउन र खानपान गराउन सक्ने क्षमता होमस्टेमा छ । पहिले फाट्टफुट्ट पर्यटक पुग्ने गरेको भएपनि भ्यू टावर पूर्णरुपमा सञ्चालनमा आएपछि मनग्गे पर्यटक आउन थालेका छन् । गर्मीको समयमा कहिलेकाहीँ त होमस्टेमा ठाउँ नपाएर पर्यटक फर्केन पनि बाध्य हुन्छन् ।
होमस्टे सञ्चालक महेन्द्र खड्काका अनुसार पर्यटक आउन थालेपछि एउटा होमस्टेले मासिक ५ देखि ७ लाख रुपैयाँसम्म कारोबार गर्न थालेका छन् । पर्यटक आउन थालेपछि आर्थिक गतिविधि पनि ह्वात्तै बढेको छ ।
सुर्योदयको दृश्य र चिसोको आनन्द
बाह्रै महिना चिसो हावापानी र मनोरम दृश्यले गर्दा पर्यटक जेफालेडाँडा चढेर सुर्योदय हेर्न र प्रदेशका विभिन्न जिल्ला अवलोकन गर्न पुग्ने गर्छन् । शान्त र कोलाहलरहित जेफालेमा रहेको चिया बगान घुम्न र स्थानीय संस्कृतिको अध्ययन गर्न पनि पर्यटक पुग्ने गर्छन् ।
विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष तथा जेफाले पर्यटकीय क्षेत्र संरक्षण समितिका समेत निवर्तमान अध्यक्ष रहेका स्थानीयवासी डिल्लीप्रसाद अधिकारीले राम्रो आर्थिक आम्दानी हुने जेफालेसम्म सडकको स्तरोन्नति गर्न तथा सुरक्षा र सञ्चारको टावर स्थापना गराउन पटक–पटक पहल गरेपनि समस्या समाधान भई नसकेको बताए । अहिले समितिको समयावधि सकिएको छ ।
सडक समस्या
सडक स्तरोन्नी गरेर सञ्चारको राम्रो सुविधा पु¥याएमा झापा, मोरङ र सुनसरीका मात्र नभई बिहार र बंगालका पर्यटकलाई पनि सहजै जेफाले पु¥याएर प्याकेजमा भ्रमण गराउन सकिने विराटनगरका होटल व्यवसायी बताउँछन् । कोही जोखिम मोलेर भएपनि मोटरसाइकल र निजी सवारी लिएर केरावारी हुँदै जेफालेसम्म पुग्ने गरेका छन् भने कोही लामो यात्रा भएपनि धनकुटाको भेडेटार, डाँडाबजार, राजाराजी हुँदै धनकुटाको समेवा भएर जेफाले पुग्ने गरेका छन् ।
पर्यटकको रोजाइमा परेकाले केरावारी–जेफाले सडकको चाँडो पूरै स्तरोन्नति भएमा जेफाले जाने पर्यटकको कमी नहुने पर्यटन व्यवसायी भविश श्रेष्ठले बताए । पूर्व विराट क्षेत्र पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष समेत रहेका श्रेष्ठले जेफालेको लागि २० वर्षदेखि लगानी भइरहेको सडक समस्याको रुपमा रहेको र सडकको सहज पहुँच पुग्ने बित्तिकै पूर्वको राम्रो उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । ‘चिया बगान, ग्राउण्ड एपल लगायतको आनन्द स्वाद यहीँ लिन सकिन्छ,’ उनले भने ।
पदमार्गको रुपमा विकास गर्नको लागि पनि पर्यटन व्यवसायी तथा होटल व्यवसायीले पहल शुरू गरेका छन् । मोरङको राजारानीबाट सिंहदेवी हुँदै धनकुटाको भेडेटारसम्मको पदमार्गको रुपमा विकास गर्ने गरी चाँडै त्यसलाई ट्रेकिङ रुटको रुपमा विकास गर्ने काम पनि भइरहेको श्रेष्ठ बताउँछन् । ‘करीब ५ घण्टामा रमणीय ट्रेकिङ रुटको रुपमा विकास गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘व्यवसायीको तर्फबाट पहल भएपनि राज्यको तर्फबाट कुनै पनि पहल भएको छैन ।’
जेफाले पूर्वपश्चिम राजमार्गमा पर्ने खोर्साने चौकदेखि ३२ किलोमिटर उत्तरमा पर्दछ । खोर्सानेबाट ७ किलोमिटर दूरीमा रहेको केरावारी बजारबाट उत्तर पहाडी मार्ग भोगटेनी हुँदै केरावारी गाउँपालिका–२ मा पर्ने जेफालेसम्मका लागि २०५२ सालदेखि सडक निर्माण भइरहेको छ । तर, हाल केरावारीबाट भोगटेनीसम्म १२ किलोमिटर सडक स्तरोन्नति भएपनि अझै जेफालेसम्म १३ किलोमिटर सडक स्तरोन्नति भएको छैन ।