
काठमाडौं – जोसे मोउरिन्हो कुनै समयमा विशेष थिए । तर पहिलेका आकर्षक र सफल व्यक्तित्व अहिले त्यसको छायाँ मात्र हुन् । उनको दिग्दारलाग्दो छवि म्यानचेस्टर युनाइटेडमा छाएको छ । उनलाई क्लबबाट निकाल्ने समय आएको छैन भने कुन चाहिँ उपयुक्त समय हो त ?
अहिलेसम्म उनको गतिलो विकल्प छैन भन्दैमा मोउरिन्होलाई झेलिरहनुपर्छ भन्ने छैन । व्यवस्थापकको जागिर माइकल क्यारिक, जिनेदिन जिदान वा फ्रेड द रेड जसलाई दिएपनि हुन्छ ।
प्रेमियर लीगमा क्लबको यो संयुक्त सबभन्दा खराब शुरूआत हो र सन् २०१३–१४ को सीजनजस्तै खराब स्थिति अहिले छ । यसभन्दा खराब शुरूआत ३० वर्षअघि भएको थियो ।
सर एलेक्स फर्गुसनले सन् १९८९–९० को सीजनको शुरूआत सात खेलमा चार पराजयबाट गरेका थिए । तीमध्येको अन्तिम खेलमा म्यानचेस्टर सिटीले युनाइटेडलाई ५–१ ले ध्वस्त पारेको थियो । सन् २०१८ मा पेप ग्वार्डिओलाको सिटीले मोउरिन्होको झुर टोलीलाई के हालत बनाउला ?
तर त्यतिखेर फर्गुसनको जागिर जोगियो र उनले त्यस सीजनको पहिलो ट्रफी जिते । पछि उनले क्लबका लागि ३७ अन्य ट्रफी जिते । तर त्यो फरक युग थियो र शीर्ष चार स्थानमा पर्नुको महत्त्व त्यतिखेर चर्को थिएन । फर्गुसनले क्लब हाँक्दा ल्याएको महानतालाई फर्काउनका लागि मोउरिन्होलाई ल्याइएको होला तर त्यो महानताबाट क्लब अहिले धेरै टाढा छ ।
कुनै गैरजिम्मेवार जँड्याहा झैं मोउरिन्हो अनावश्यक झगडा गरिरहेका छन् र हारिरहेका छन् । वेस्ट ह्यामविरुद्धको खेलमा उनले तीनजनाको डिफेन्स फर्मेसनमा स्कट मक्टोमिनेलाई छान्नु अनि एरिक बेलीलाई बेन्चमा राख्नुमा कुनै तुक थिएन । अनि स्वस्थ एलेक्सिस सान्चेजलाई वेस्ट ह्याम पुर्याएर खेल्न चाहिँ नदिनुमा पनि कुनै तुक थिएन ।
खासमा भन्ने हो भने मोउरिन्होले अहिले त जे गरेपनि त्यसमा कुनै तुक देखिँदैन । शनिवार वेस्ट ह्यामसँग ३–१ ले हारेपछि उनलाई खेलाडीले पत्याउनै छोडिसकेको प्रस्ट छ । उनमा रणनीतिक सोच र बहाना दुवै सकिएका छन् : फिलिप एन्डरसनले वेस्ट ह्यामका लागि खाता खोलेपछि उनले प्रेमियर लीगमा भीएआर नभएको गुनासो गरे तर मार्को अर्नाटोविचले युनाइटेडको डिफेन्सलाई वाल्ल पार्दै गोल गरेको कुराको भने कुनै व्याख्या गर्न सकेनन् ।
तपाईं गाली गरिरहने व्यवस्थापकका लागि किन लड्नुहुन्छ र ? क्लबमा चलिरहको ताजा नाटकका नायक पल पोग्बाले खेलमा कुनै जीवन्तता नदेखाएपछि उनको ठाउँमा फ्रेडलाई उतारियो । मोउरिन्होले वेस्ट ह्यामको तीव्र गतिको खेलको प्रशंसा गरे । अनि युनाइटेडको खेलमा तीव्रता खै त ? वेस्ट ह्याम त जोशमा थियो रे, युनाइटेडको प्रदर्शन चाहिँ मोउरिन्होलाई निकाल्नका लागि पर्याप्त हुनुपर्ने हो ।
शनिवारको लज्जास्पद हार अघिल्लो खराब हप्ताको चरमचुली थियो र यसले मोउरिन्होको भाग्य निर्धारण गर्नुपर्छ । त्यो हप्ताको शुरूआत नै पोग्बाले आफ्ना व्यवस्थापकमाथि गरेको छद्म आक्रमणबाट भएको हो । त्यतिखेर हालै प्रोमोसन भएको टोली वुल्भ्सले युनाइटेडलाई ओल्ड ट्राफोर्डमै आच्छुआच्छु पार्यो ।
आफ्नो मैदानमा त आक्रामक रणनीति अपनाउनू नि भनी पोग्बाले भनेपछि मोउरिन्हो रिसाएर पोग्बालाई उपकप्तानबाट हटाएको घोषणा गर्न पुगे । अनि उनीहरू दुईबीच ट्रेनिङ ग्राउन्डमा तनावपूर्ण व्यवहार देखियो । त्यसपछि लीग कपमा दोस्रो दर्जाको टोली डर्बीसँगको हार र लन्डनमा वेस्ट ह्यामसँगको पराजयले युनाइटेडलाई पातालमै पुर्यायो ।
मोउरिन्होका चेलाहरू उनी अतीतका मानिस हुन् भन्ने तर्कलाई खारेज गर्छन् तर उनले पहिले हासिल गरेका उपलब्धिहरूलाई फेरि पाउने संकेत उनले कतैबाट पनि दिएका छैनन् । उनका लागि नराम्रो खबर भनेको प्रतिस्पर्धी क्लबका नयाँ व्यवस्थापकहरूलाई खेलाडीले पत्याइरहेका छन् ।
चेल्सीले मउरिजियो सार्रीको रणनीतिलाई मज्जाले अपनाउन थालेको छ : हाई प्रेसिङ गर्ने अनि मिडफील्डमा जोर्गिन्होले बल चलायमान राख्ने । आर्सनल पनि उनाई एमरीको व्यवस्थापनमा सुध्रिँदै गएको देखिन्छ र आर्सन वेन्गरको २२ वर्षे व्यवस्थापनपछि नयाँ खेल शैली अपनाइरहेको देखिन्छ ।
युर्गेन क्लोप लिभरपूलमा तेस्रो पूर्ण सीजन हाँकिरहेका छन् । मोउरिन्हो पनि युनाइटेडमा तेस्रो सीजन चलाइरहेका छन् । तर उनीहरू दुईबीच खेलको अप्रोच, दर्शन र आशावादितामा आकाश जमीनको अन्तर छ । डर्बी काउन्टीधरी फ्रान्क लाम्पार्डको व्यवस्थापनमा राम्रो देखिएको छ । लीड्स युनाइटेडमा मार्सेलो बिएल्साले कमाल गरिरहेका छन् ।
तर मोउरिन्हो ? तीन सीजन भइसक्यो, करोडौं रुपैयाँ खर्च भइसक्यो तैपनि अझै उनको गेम प्लानको अत्तोपत्तो छैन । डिजिटल युगमा एनालग व्यवस्थापकको गतिहीन फूटबलको नमूना देख्न पाइएको छ । मोउरिन्होले युनाइटेड छोडे भने कसैले पनि पीडाको आँसु बगाउँदैन जसरी मार्को मातेराजीले सन् २०१० मा इन्टर मिलान छोड्दा बगेका थिए । बरू खुशीका आँसु चाहिँ बग्लान् ।
चेल्सीले मोउरिन्होलाई डिसेम्बर २०१५ मा निकालिदिएको थियो । त्यतिखेर साबिक विजेता क्लब रेलिगेसन जोनतिर लर्खरिरहेको थियो । त्यतिखेरकै स्थिति अहिले पनि छ : मोउरिन्होले आफ्नै टोलीमा व्यापक द्वन्द्व निम्त्याएका थिए ।
उनले क्लबको ट्रान्सफर नीतिको आलोचना गरेका थिए र आफूलाई समर्थन नगरेको भनेका थिए । उनले यो सीजनमा पनि त्यसै गरिरहेका छन् । आफ्ना युवा खेलाडीलाई उनले त्यतिखेर पनि हतास बनाएका थिए, अहिले पनि बनाउँदैछन् । मोउरिन्होको तेस्रो सीजन जहिले पनि रद्दी हुन्छ र युनाइटेडका अन्ध समर्थकले बाहेक कसैले पनि अहिले यो किसिमको फूटबललाई पचाउन सक्दैन ।
स्टेडियममा गएर म्याच हेर्नेहरू क्लबप्रति बढी बफादार छन् र डर्बी तथा वेस्ट ह्यामका समर्थकले ‘तिमीलाई भोलि बिहान निकाल्दैछन्’ भनी गीत गाएपनि मोउरिन्होको समर्थन गरिरहन्छन् । तर उनीहरूको धैर्य कहिलेसम्म कायम रहने हो ?
युनाइटेडका समर्थकहरू लिभरपूलले प्रेमियर लीगमा मनोरञ्जन ल्याएको अनि प्रशंसकलाई खुशी तुल्याएको कसरी सहिरहेका होलान् जबकि युनाइटेडका समर्थकले खुशी हुने मौकै दुर्लभ भइरहेको छ । व्यवस्थापक छन् जतिखेर पनि नकारात्मकता छरिरहने खालका ।
मोउरिन्हो युनाइटेड आएकै जस्तो बेलामा पेप ग्वार्डिओला सिटी आएका हुन् अनि अघिल्लो सीजनमा सिटीले लीग जित्ने क्रममा भएभरका कीर्तिमान तोड्यो । यसले युनाइटेडका प्रशंसकलाई ज्वरै फुटाएको हुनुपर्छ ।
तर यो सबको उपचार छ । क्लबका कार्यकारी उपाध्यक्ष एड वूडवार्डसँग फूटबलको एकरत्ती पनि ज्ञान छ भने तत्कालै कुनै कारवाही गर्नुपर्ने हो । उनको व्यापारिक ज्ञान चाहिँ यति प्रबल छ कि एस्किमोलाई पनि हिउँ बेचिदिन सक्छन् ।
यो सीजन अझै पनि सकिएको छैन र यो विषको एउटा उपचार छ । व्यवस्थापक परिवर्तन गरेपछि क्लबको आन्तरिक द्वन्द्व साम्य हुन्छ र क्लबमा झुर प्रदर्शन गरिरहेका खेलाडीले पनि अन्तिमपटक आफ्नो योग्यता देखाउन पाउँछन् । मोउरिन्हो बिदा हुने बेला भयो अब ।
(ईएसपीएनमा प्रकाशित जेनेरल एडिटर एलेक्स शको विश्लेषणको भावानुवाद)