
काठमाडौं – अन्तर्राष्ट्रिय समुदायले नेपालको पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्र संघको महासभाका सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजित कार्यक्रममा भाग लिएर स्वदेश फर्किएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने– 'विभिन्न चुनौती र जटिलताका बीच पुनर्निर्माण र पुनर्स्थापनाका पक्षमा नेपालले गरेको प्रगतिको अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेका छन् र निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।'
संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन र विश्व बैंकद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनर्निर्माण तथा पुनर्स्थापनाको अवस्था र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।
उनले पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरू संविधानको व्यवस्थाअनुसार सम्भव भएसम्म स्थानीय तहबाटै गर्ने गरी अघि बढाइएको जानकारी गराएका थिए ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न करीब थप ६ खर्ब रुपैयाँ लाग्ने बताउँदै आर्थिक स्रोत व्यवस्थापनमा आन्तरिक र बाह्य सहयोग आवश्यक भएको बताए ।
उनले विपद्पश्चातको पुनर्निर्माण आकस्मिक कार्य भएकाले र तत्काल वित्तीय स्रोत परिचालन गर्नुपर्ने हुँदा अन्तर्राष्ट्रिय समुदायले विपद् व्यवस्थापन कोष स्थापना गर्नुपर्ने र उक्त रकम खर्च गर्नमा सहज र सरल प्रावधान राख्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा डोमिनिका र नाइजेरियाका मन्त्री, युरोपियन युनियन, यूनएनडीपीका विज्ञहरू लगायतले विपद्पछिको पुनर्निर्माण, पुनर्स्थापना, साझेदारी, अर्थतन्त्र लगायतबारे प्रस्तुत गरेका थिए ।
विश्वमा पुनर्निर्माण तथा पुनर्स्थापनासम्बन्धी कार्यक्रममा भाग लिन गत मंगलबार अमेरिका प्रस्थान गरेका ज्ञवाली आइतबार साँझ स्वदेश फर्केका हुन् ।