काठमाडौं — इन्डोनेसियामा शुक्रवार आएको भूकम्पपछि उद्धारकार्य जारी छ । भूकम्पका कारण एक चर्चमा मारिएका ३४ विद्यार्थीको लाश उद्धारकर्मीहरूले फेला पारेका छन् ।
एक स्थानीय अधिकारीले यसको जानकारी दिएका हुन् ।
इन्डोनेसियाको रेड क्रसकी प्रवक्ता औलिया अरियानीले मंगलवार बताएअनुसार, उद्धारकर्मीले ३४ लाश भेटेका हुन् । सिगी बिरोमारु जिल्लाको जोनोङ चर्च तालिम केन्द्रको एक बाइबल क्याम्पबाट ८६ विद्यार्थी हराएको खबर आएको थियो ।
अरियानीका अनुसार, उद्धारकर्मीहरूलाई शव निकाल्नका लागि हिलैहिलो भएको कठिन बाटोबाट हिँड्नुपरेको थियो । लाशलाई एम्बुलेन्ससम्म पु¥याउनका लागि लगभग डेढ घन्टासम्म पैदल हिँड्नुपरेको थियो ।
शुक्रवार साँझ आएको भूकम्प र सुनामीले मध्य सुलावेसी ध्वस्त भयो । समुद्र किनारमा रहेको शहरमा सुनामी आएपछि सडक, भवन र रुखबिरुवा सबै बगे ।
अहिलेसम्म कम्तीमा ८४४ जना मारिएको खबर छ । दुर्गम क्षेत्रमा उद्धारकर्मीहरू पुग्न नसकेका कारण मर्नेहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
इन्डोनेसियाको सेना उद्धारकार्यमा लागेको छ । देशका राष्ट्रपतिले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका छन् ।
भत्केका भवनमा लाश अझै थिचिएकाले त्रास फैलिएको छ । इन्डोनेसियाको तातो जलवायुमा शव छिट्टो सड्ने भएकाले घातक रोग फैलिनसक्ने भनी प्रशासनले चिन्ता लिएको छ ।
एजेन्सी