
मोहनदास करमचन्द गान्धी अर्थात माहात्मा गान्धीको आज १५० औं जन्मजयन्ती हो । उनी महात्मा बने, मायाले सबैले उनलाई बापू पनि भने र उनलाई अन्तिममा राष्ट्रपिताको सम्मानपनि भारतमा दिइयो ।
गान्धी अहिंसा तथा सत्याग्रहका देवदूत थिए । भारतमा अंग्रेज शासनलाई घुँडा टेकाउने उनको मन्त्रको शुरुवात दक्षिण अफ्रिकाबाट भएको थियो ।
महात्मा गान्धीले दक्षिण अफ्रिकामा आफ्नो जवानीको २१ वर्ष विताए । त्यहाँ उनको विरासत बचेको छ कि छैन ? उनको नाम दक्षिण अफ्रिकामा लिइन्छ कि लिइदैन भन्ने विषयमा बीबीसी हिन्दीले समाचार प्रकाशन गरेको छ ।
डरबन तथा जोहनसबर्ग जस्ता ठूलो शहरमा गान्धीलाई विर्सन सजिलो छैन । यहाँका केही सडक र चोकहरुको नाम गान्धीसँग जोडिएको छ । उनको शालिकहरु तथा संग्रालयहरु राखिएको छ ।
गान्धी १८९३ मा दक्षिण अफ्रिका आए र १९१४ मा सधैंका लागि भारत फर्किएर । अफ्रिकामा गान्धीको सबैभन्दा ठूलो विरासत डरबनको फिनिक्स सेटलमेन्टमा छ जहाँ भारतीय मूलका मानिसको एक ठूलो बस्ती रहेको छ ।
फिनिक्स सेटलमेन्टमा गान्धीले १९०४ मा १०० एकड जमिनमा एक आश्रम बनाएका थिए, उनकी नातिनी इला गान्धीका अनुसार यही आश्रममा बस्न थालेपछि गान्धी जीको व्यवहारमा निकै परिवर्तन आएको थियो ।
सत्याग्रहको विचारदेखि लिएर सामूहिक बसाइ, आफ्ना काम आफै गर्ने तथा पर्यावरण सम्बन्धी कदम सबै त्यहीबाट जन्मिएको इलाको भनाइ छ ।
आश्रममा बस्नु भन्दा पहिला गान्धीको जीवन शैली अंग्रेजको जस्तो थियो । टाइ सुट लगाएर गान्धी अफ्रिका गएका थिए । उनी काटा चम्चाले खाना खान्थे । गान्धी काला जातीका मानिसबाट टाढा बस्थे जसका कारण उनका केही आलोचकले गान्धीलाई जातीवादी भएको आरोप लगाउने गरेका थिए ।
७८ वर्षीया माहात्माकी नातिनी इला गान्धीका अनुसार माहात्मा अफ्रिका आउँदा उनी केबल २४ वर्षका मात्र थिए । इला गान्धीको जन्म यसै आश्रममा १९४० मा भएको थियो । जसको बाल्यकाल यही बितेको थियो ।
इला गान्धी महात्मा गान्धीका चार छोरा मध्ये दोस्रो छोरा मणिलाल गान्धीकी छोरी हुन् । उनी अहिले सामाजिक कार्यकर्ता हुन् र गान्धीको जबर्जस्त चेली पनि । उनी सेवानिवृत्त प्राध्यापक तथा पूर्व सांसद पनि हुन् ।
इला सात सालको उमेरसम्म बापूको काखमा खेलेर हुर्किएकी थिइन् ।
गान्धीको शान्तीको अभियानको झिल्कोलाई उनले अफ्रिकामा एक्लै जिवित राखेकी छिन् ।
उनकी दिदी सीता धुपेलिया गान्धीको विचारको प्रचार गर्ने गर्थिन् केही समय पहिला उनको निधन भयो । सीताकी छोरी कीर्ती मेनन तथा छोरा सतीश गान्धी परिवारको चौथो पुस्ता हो ।
कीर्ति मेननले भारतमा बढिरहेको हिंसा तथा विभाजित समाजमा दुःख व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ ।
गान्धीको स्थायी विरासतमा सामेल भएका उनको परिवार नयाँ पुस्तामा कबीर, मिशा तथा सुनिता लगातका रहेका छन् । उनीहरु धुपेलियामा बस्दै आएका छन् । जो महात्मा गान्धीका पाँचौ पुस्ता हो ।
महात्मा गान्धी १९१४ मा दक्षिण अफ्रिकाबाट भारत फर्किए । उनको दोस्रो छोरा मणिलाल पनि बापुसँगै भारत गएका थिए तर केही समयपछि गान्धीले उनलाई डरबन(अफ्रिका) फिर्ता पठाइदिए ।
अफ्रीकामा बस्दै आएका गान्धीका परिवारले आफूहरुलाई गान्धी भारतको राष्ट्रपिता र विश्वभरमा शान्ति तथा अहिंसाको गुरु मानिएकोमा खुसी व्यक्त गरे । उनीहरुले आफूहरु अफ्रिकन पहिलो र भारतीय मूलको दोस्रो रहेको बताए ।